विश्व श्रवण दिवस
९ करोड भन्दा बढी बालबालिकामा बहिरोपनको जोखिम, अब मोबाइल एप बाटै कान जाँच गर्न सकिने
काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले बालबालिकामा हुने बहिरोपनको समस्यालाई सम्बोधन गर्न विश्वभरका सरकार र सरोकारवालाहरूलाई आग्रह गरेको छ।
मार्च ३ मा मनाइने ‘विश्व श्रवण दिवस’ को अवसरमा डब्लुएचओले स्वास्थ्य र शिक्षा क्षेत्रका साझेदारहरू लाई बालबालिकाको कानको सुरक्षाका लागि तत्काल कदम चाल्न आह्वान गरेको हो। यस वर्षको नारा ‘समुदाय देखि विद्यालय सम्म: सबै बालबालिकाका लागि श्रवण हेरचाह’ तय गरिएको छ।
बालबालिकाको श्रवण स्वास्थ्यमा गम्भीर चुनौती
डब्लुएचओको पछिल्लो तथ्यांक अनुसार विश्वभर ५ देखि १९ वर्ष उमेर समूहका ९ करोड ५० लाखभन्दा बढी बालबालिका र किशोर किशोरीहरूमा उपचार हुन नसकेको बहिरोपनको समस्या छ। यो समस्या विशेष गरी दक्षिण पूर्वी एसिया र अफ्रिका जस्ता कम र मध्यम आय भएका देशहरूमा बढी देखिएको छ।
समय मै उपचार नहुँदा बालबालिकाको बोली र भाषाको विकासमा ढिलाइ हुने, बौद्धिक क्षमतामा बाधा पुग्ने र सामाजिक अन्तरक्रियामा कठिनाइ हुने विज्ञहरूले बताएका छन। यसले अन्ततः उनीहरूको शिक्षा, रोजगारीको अवसर र दीर्घकालीन आर्थिक अवस्थामा समेत नकारात्मक असर पार्ने देखिएको छ।
डब्लुएचओका अनुसार करिब ६० प्रतिशत कानका समस्याहरू स्थानीय स्वास्थ्य क्लिनिक मै तालिम प्राप्त स्वास्थ्यकर्मी र सामान्य उपकरणको सहयोगमा निको पार्न वा रोकथाम गर्न सकिन्छ। तर, हाल सेवाको आवश्यकता भएका ८० प्रतिशत भन्दा बढी मानिसहरूले उपचार पाउन सकेका छैनन।
प्रविधिको प्रयोग: ‘डब्ल्यूएचओ इअर्स’ एप
श्रवण परीक्षणलाई सहज बनाउन डब्लुएचओले ‘डब्ल्यूएचओ इअर्स’ नामक मोबाइल एप सार्वजनिक गर्ने तयारी गरेको छ। आईओएस र एन्ड्रोइड दुवैमा उपलब्ध हुने यो एपले विद्यालय र समुदाय स्तरमा तालिम प्राप्त व्यक्तिहरू मार्फत बालबालिकाको कान जाँच गर्न मद्दत पुर्याउनेछ।
डब्लुएचओ को आँखा, कान र मुख स्वास्थ्य टोलीकी प्रमुख डा. शेली चड्डाले भने, ‘सस्तो र व्यावहारिक समाधानहरू उपलब्ध भइरहेको आजको समयमा, उपचारको अभावमा कुनै पनि बच्चा पछि पर्नु हुँदैन।’
डब्लुएचओका मुख्य सुझाव र पहलहरू
डब्लुएचओले बालबालिकाको श्रवण शक्ति जोगाउन निम्न तीन प्रमुख कार्यहरूमा जोड दिएको छ ।
- विद्यालय स्वास्थ्य कार्यक्रम: विद्यालयहरूमा कानको सरसफाइ र हेरचाहसम्बन्धी अभ्यासहरूलाई प्रोत्साहन गर्ने।
- नियमित परीक्षण: समुदाय र विद्यालय स्तरमै कानको परीक्षण गर्ने र आवश्यक परेमा उपचारका लागि प्रेषण गर्ने (रिफरल) व्यवस्था मिलाउने।
- जनचेतना: शिक्षक, अभिभावक र स्वास्थ्यकर्मीहरू लाई यसबारे सही जानकारी र स्रोतहरू उपलब्ध गराउने।

प्रतिक्रिया दिनुहोस