इजरायली विशेषज्ञद्वारा नेपालको ट्रमा र विपद् व्यवस्थापनमा सहयोगको प्रतिबद्धता; ‘बाइक एम्बुलेन्स’ को अवधारणा
काठमाडौँ – इजरायलका वरिष्ठ ट्रमा तथा आपतकालीन उपचार विशेषज्ञ प्रा. डा. अब्राहम रिभकिन्डले नेपालको आकस्मिक स्वास्थ्य सेवा र विपद् व्यवस्थापन प्रणालीलाई बलियो बनाउन आफ्नो अनुभव साटासाट गरे। नेपाल स्थित इजरायली दूतावासको समन्वयमा भएको तीन दिने भ्रमणका क्रममा उनले नेपाली अस्पतालहरूको क्षमता अभिवृद्धि गर्ने र दुर्घटनास्थल मै तत्काल उपचार पुर्याउन ‘बाइक एम्बुलेन्स’ सहितको स्वयंसेवक संयन्त्र निर्माण गर्ने प्रस्ताव अघि सारे ।
अस्पताल र सरकारी निकायसँग छलफल
भ्रमणका क्रममा डा. रिभकिन्डले वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र धुलिखेल अस्पतालका चिकित्सक तथा विद्यार्थीहरूलाई प्रशिक्षण दिए। उनले विशेष गरी ठुलो संख्यामा मानिसहरू घाइते हुने (मास क्याजुअल्टी) घटना र जटिल आपतकालीन अवस्थामा इजरायलले अपनाउँदै आएका विश्व स्तरीय अभ्यासहरू बारे जानकारी दिए ।
त्यसै गरी, उनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरूसँग भेट गरी नेपालको विपद् प्रतिकार्य संयन्त्रलाई कसरी बलियो बनाउने भन्ने विषयमा छलफल गरे। उनले पाटन अस्पतालको भ्रमण गर्नुका साथै देश भरका चिकित्सकहरू सँग भर्चुअल माध्यमबाट समेत संवाद गरे।
नेपालसँगको पुरानो सम्बन्ध र भविष्यको सहकार्य
इजरायली राजदूत श्मुलिक एरी बासका अनुसार यो भ्रमणले दुई देश बीचको कुटनीतिक र प्राविधिक सम्बन्धलाई थप प्रगाढ बनाएको छ। डा. रिभकिन्डले यस अघि अन्नपूर्ण क्षेत्रमा आएको हिम पहिरोको समयमा पनि नेपाली चिकित्सकहरू सँगै मिलेर घाइतेहरूको उपचार गरेका थिए। सन् २०१५ को भूकम्पमा पनि इजरायलले ठुलो सैन्य मेडिकल टोली पठाएर करिब २,००० नेपालीको उपचार गरेको थियो।
भ्रमणका क्रममा उनले काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोल र राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यसँग पनि भावी चिकित्सा सहयोगका बारेमा कुराकानी गरे।
के हो ‘बाइक एम्बुलेन्स’ को अवधारणा?
डा. रिभकिन्डले नेपालको ‘प्रि-हस्पिटल’ सेवा (अस्पताल पुग्नु अघिको उपचार) सुधार गर्न ‘बाइक एम्बुलेन्स’ को अवधारणामा जोड दिए। यस प्रणाली अन्तर्गत:
- तालिम प्राप्त स्वयंसेवकहरू लाई पेजर मार्फत दुर्घटना वा बिरामीको जानकारी दिइन्छ।
- ट्राफिक जाम वा दुर्गम ठाउँमा ठुलो एम्बुलेन्स पुग्नु अघि नै बाइकमा रहेका प्राथमिक उपचारक घटनास्थल पुग्छन।
- उनीहरूले बिरामीलाई तत्काल जीवनरक्षक उपचार सेवा प्रदान गर्छन्, जसले मृत्यु दर घटाउन मद्दत पुग्छ।

प्रतिक्रिया दिनुहोस