क्युरेक्स फर्मास्युटिकल्सको ‘एन्क्लेभ ओडी’ एन्टिबायोटिक गुणस्तरहीन


काठमाडौँ – औषधी व्यवस्था विभागले क्युरेक्स फर्मास्युटिकल्स द्वारा उत्पादित एन्टिबायोटिक ‘एन्क्लेभ ओडी’ (ENCLAVE OD) नामक चक्की औषधि गुणस्तरहीन पाएको छ ।

विभागले बजार अनुगमनका क्रममा संकलन गरिएका क्युरेक्स फर्मास्युटिकल्स प्रालि (बनेपा-१०, काभ्रे) द्वारा उत्पादित एन्क्लेभ ओडी को नमूना परीक्षण गर्दा उक्त एन्टिबायोटिक औषधि न्यून गुणस्तरको पाइएको जनाएको छ।

राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको परीक्षणमा एन्क्लेभ ओडी (एमोक्सिसिलिन एण्ड क्लाभुलानेट पोटासियम ट्याब्लेट आईपी) को एउटा ब्याच तोकिएको मापदण्डमा असफल भएको हो।

कुन ब्याचमा समस्या देखियो?

विभागका अनुसार ब्याच नम्बर ‘टिइओडी-०२६’ (TEOD-026) भएको औषधिमा समस्या देखिएको छ। यो औषधि डिसेम्बर २०२४ मा उत्पादन भएको र यसको म्याद ‘मे’ २०२६ सम्म रहेको छ।

औषधि ऐन, २०३५ को दफा १४ बमोजिम विभागले उक्त ब्याचको औषधिको बिक्री वितरणमा रोक लगाएको छ। विभागले सम्बन्धित उद्योग र तिनका प्रतिनिधिहरू लाई उक्त ब्याचका औषधिहरू बजारबाट तुरुन्त फिर्ता गर्न र त्यसको विवरण विभागमा बुझाउन निर्देशन दिएको छ ।साथै, चिकित्सकहरूलाई उक्त ब्याचको औषधि सिफारिस नगर्न र बिरामीहरूलाई प्रयोग नगर्न समेत विभागले अनुरोध गरेको छ।

औषधिमा के समस्या थियो ?

प्राविधिक परीक्षणका क्रममा यो औषधिमा दुईवटा समस्याहरू देखिएका छन । यस अन्तर्गत औषधिको मात्रा (असे) मा समस्या अर्थात औषधिमा हुनुपर्ने एमोक्सिसिलिन र क्लाभुलानिक एसिडको मात्रा तोकिएको मापदण्ड अनुसार नभएको पाइयो।

यस्तै औषधिको  घुलनशीलता (डिसोल्युशन) मा समेत समस्या रहेको थियो। यस अन्तर्गत औषधि शरीरमा प्रवेश गरे पछि यो औषधि निश्चित समय भित्र खुल्नु पर्ने प्रक्रियामा असफल भएको हो।

उपभोक्ता ले के गर्ने ?

विज्ञहरूको अनुसार यदि तपाईंले यो औषधि सेवन गरिरहनु भएको छ भने, कृपया आफ्नो औषधिको स्ट्रिप (पता) को पछाडि लेखिएको ब्याच नम्बर (Batch No.) चेक गर्नुहोस। यदि त्यसमा TEOD-026 लेखिएको छ भने, त्यसको प्रयोग रोकी तुरुन्त आफ्नो चिकित्सक वा फर्मासिस्टसँग सल्लाह लिनुहोस।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!