भृकुटीमण्डपमा १०औं ‘नेपाल फर्मा एक्स्पो २०२६’ आयोजना हुने: २०० भन्दा बढी स्टल रहने
काठमाडौँ – आगामी फागुन अन्तिम साता ‘नेपाल फर्मा एक्स्पो २०२६’ को १० औं संस्करण आयोजना हुने भएको छ। नेपाल औषधि उत्पादक संघ (एप्पोन) ले फागुन २८ देखि ३० गतेसम्म भृकुटीमण्डपमा यो प्रदर्शनी गर्न लागेको हो।
नेपाली औषधि क्षेत्रलाई आधुनिक रूपान्तरण गर्ने लक्ष्यका साथ यस वर्ष ‘फार्मा नवीनता: भोलिको स्वास्थ्यका लागि’ भन्ने मूल नारा तय गरिएको छ।
एक्स्पोका मुख्य आकर्षण र सहभागिता
यस पटकको प्रदर्शनीमा २०० भन्दा बढी स्टलहरू रहनेछन । जसमा औषधि उत्पादनमा प्रयोग हुने अत्याधुनिक मेसिनरी, ल्याब टेक्नोलोजी, कच्चा पदार्थ र प्याकिङ्ग सामग्रीहरूको प्रदर्शन गरिनेछ।
प्रदर्शनीको विशेष पक्ष ९० प्रतिशत भन्दा बढी सहभागिता विदेशी तथा बहुराष्ट्रिय कम्पनीहरूको रहनेछ। बाँकी १० प्रतिशत स्टलहरूमा स्वदेशी औषधि उद्योगका उत्कृष्ट उत्पादनहरू प्रदर्शन गरिनेछ। यसले विश्व बजारमा आएका नयाँ प्रविधिलाई नेपाली बजारसँग जोड्ने अपेक्षा गरिएको छ।
आत्मनिर्भरता र जनचेतनामा जोड
एप्पोनका अध्यक्ष विप्लव अधिकारीले यो एक्स्पो प्रदर्शनी मात्र नभई नेपाललाई औषधि उत्पादनमा आत्मनिर्भर बनाउने एउटा बलियो खुड्किलो भएको बताए। उनले हिजोको अनुसन्धानले आजको औषधि बनेको र आजको लगानीले भोलिको स्वास्थ्य सुनिश्चित गर्ने उल्लेख गरे।
त्यस्तै, संघका महासचिव एवं एक्स्पो संयोजक सन्तोष बरालले नेपालमा विश्वस्तरीय औषधि उत्पादन हुन्छ भन्ने जानकारी सर्वसाधारण सम्म पुर्याउनु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको जानकारी दिए। यसका लागि प्रदर्शनीमा सबैका लागि प्रवेश निःशुल्क गरिएको छ।
एक्स्पो अघिका कार्यक्रमहरू
- खेलकुद: माघमा फुटसल सम्पन्न भइसकेको छ भने फागुन ८ र ९ गते ‘क्रिकसल’ प्रतियोगिता हुँदैछ ।
- तालिम: फागुन ४ र ५ गते फर्मा म्यानेजर र बजार प्रतिनिधिहरूका लागि विशेष सेमिनार आयोजना गरिनेछ।
- प्राविधिक कार्यशाला: फागुन २७ गते क्वालिटी कन्ट्रोल फर्मासिस्टहरूलाई अन्तर्राष्ट्रिय विज्ञहरूले तालिम दिनेछन।
- उद्घाटन: फागुन २८ गते बिहान ८ बजे प्रभातफेरि गरी एक्स्पोको औपचारिक सुरुवात गरिनेछ।

प्रतिक्रिया दिनुहोस