निर्वाचन घोषणापत्रमा बाल स्वास्थ्य र अधिकारलाई प्राथमिकता दिन पेडियाट्रिक सोसाइटी को आह्वान
काठमाडौं – नेपाल पेडियाट्रिक सोसाइटी (नेपास) ले आगामी संसदीय निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले तयार पार्ने घोषणापत्रमा बाल स्वास्थ्य र बाल अधिकारलाई राष्ट्रिय प्राथमिकतामा राख्न आह्वान गरेको छ।
सोसाइटीले ले जारी गरेको नीति आह्वानमा देशको दीर्घकालीन सामाजिक, आर्थिक र मानवीय विकास आजका बालबालिकाको स्वास्थ्य, पोषण, मानसिक अवस्था र समग्र विकासमा निर्भर रहने उल्लेख गरिएको छ। संविधान ले बालबालिकाको स्वास्थ्य, पोषण, शिक्षा, संरक्षण र विकासलाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै संस्थाले अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुसार ठोस नीति आवश्यक रहेको जनाएको छ।
प्रेस विज्ञप्तिमा नेपालले संयुक्त राष्ट्रसंघको बाल अधिकारसम्बन्धी महासन्धि (सिआरसी) अनुमोदन गरिसकेको र दिगो विकास लक्ष्य (एसडीजीएस) अन्तर्गत सन २०३० सम्म मातृ, नवजात, शिशु तथा पाँच वर्षमुनिका बाल मृत्युदर न्यूनीकरण, कुपोषण अन्त्य र गुणस्तरीय स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता जनाइसकेको उल्लेख छ।
तर व्यवहारमा बालबालिकाहरू अझै पनि कुपोषण, रोकथाम योग्य रोग, नवजात तथा शिशु मृत्युदर, मानसिक स्वास्थ्य समस्या, अपाङ्गता, हिंसा, बालविवाह, बालश्रम र स्वास्थ्य सेवामा असमान पहुँच जस्ता चुनौतीको सामना गरिरहेको सोसाइटी को ठहर छ। भौगोलिक, सामाजिक र आर्थिक असमानताका कारण दुर्गम क्षेत्र, शहरी गरिब बस्ती, दलित, आदिवासी जनजाति तथा सीमान्तकृत समुदायका बालबालिका बढी जोखिममा रहेको विज्ञप्तिमा भनिएको छ।
यस पृष्ठभूमिमा सोसाइटी ले सबै राजनीतिक दलहरूलाई घोषणापत्रमा स्पष्ट रूपमा समावेश गर्नु पर्ने ६ प्रमुख प्रतिबद्धता सार्वजनिक गरेको छ। तीमध्ये बाल स्वास्थ्यलाई राष्ट्र निर्माणको आधार स्तम्भका रूपमा स्वीकार गर्नु, मातृ, नवजात, शिशु तथा किशोर स्वास्थ्यमा पर्याप्त सार्वजनिक लगानी गर्नु, कुपोषण अन्त्यका लागि बहु क्षेत्रीय कार्यक्रम सञ्चालन गर्नु र सबै बालबालिकाका लागि निःशुल्क तथा गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्नु प्रमुख छन्।
त्यस्तै, बाल हिंसा, बालविवाह र बालश्रम अन्त्यका लागि कानुनी तथा संस्थागत संयन्त्र सुदृढ बनाउने र संघीय संरचनाका सबै तहमा बालमैत्री नीति, योजना र बजेट सुनिश्चित गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा समेट्न सोसाइटीले आग्रह गरेको छ।
सोसाइटी का अध्यक्ष डा. अरुण कुमार न्यौपानेले, ‘नेपालको भविष्य आजका बालबालिकामा निर्भर छ। बालमैत्री नीति, कार्यक्रम र लगानी बिना स्वस्थ र सक्षम पुस्ता निर्माण सम्भव हुँदैन’, भन्दै राजनीतिक दलहरूलाई मापन योग्य र कार्यान्वयन योग्य प्रतिबद्धता जनाउन आग्रह गरेका छन।
सोसाइटी ले बाल स्वास्थ्य र बाल अधिकार प्रवर्द्धनका लागि नीतिगत संवाद, प्राविधिक सहयोग र सहकार्यमा सधैं तत्पर रहने स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस