विवरण अद्यावधिक नगरे फार्मेसी परिषद्ले सिफारिस पत्र नदिने, यस्तो छ नयाँ नियम
काठमाडौँ – नेपाल फार्मेसी परिषद्ले समयमै आफ्नो व्यक्तिगत र कार्य सम्बन्धी विवरण अध्यावधिक नगर्ने फर्मासिष्ट र फार्मेसी सहायकलाई कुशल अभ्यास प्रमाणपत्र (सर्टिफिकेट अफ गुड स्ट्यान्डिङ) तथा कुनै पनि प्रकारको सिफारिस पत्र जारी नगर्ने स्पष्ट चेतावनी दिएको छ।
फार्मेसी परिषद्ले दर्तावाला फर्मासिष्ट र फार्मेसी सहायकहरूका लागि कडा निर्देशन जारी गर्दै समय मै व्यक्तिगत र कार्यस्थल को विवरण अद्यावधिक नगर्नेहरू लाई अब परिषदद्वारा प्राप्त हुने सुविधाहरू गुमाउनु पर्ने जनाएको छ।
नेपाल फार्मेसी परिषद् नियमावली, २०५९ को परिच्छेद ७ अन्तर्गत नियम ७.२ अनुसार दर्तावाला फर्मासिष्ट वा फार्मेसी सहायकले व्यवसाय छाडेमा वा ठेगाना परिवर्तन भएमा एक महिना भित्र लिखित रूपमा परिषद्को रजिष्ट्रारलाई जानकारी गराउनुपर्ने व्यवस्था छ। परिषद्का अनुसार यो प्रावधान पालना नगरे पेशागत सेवासँग सम्बन्धित अधिकार प्रभावित हुनेछन।
त्यसै गरी, नियम ७.४ (२) बमोजिम दर्तावालाले आफ्नो नाम दर्ता अध्यावधिक विवरण तथा कार्य विवरण (ठेगाना, कार्यस्थल लगायत) नियमित रूपमा परिषद्मा उपलब्ध गराउनु पर्ने व्यवस्था छ। यसका लागि परिषद्को वेबसाइटमा रहेको ‘अपडेट नेम रजिस्ट्रेसन’, प्रणाली प्रयोग गरी नाम दर्ता नवीकरण (रिन्यु /अपडेट) तथा कार्यस्थल र अन्य विवरण अद्यावधिक गर्न सकिने परिषद्ले जनाएको छ।
परिषद्ले विवरण अध्यावधिक नगर्ने फर्मासिष्ट वा फार्मेसी सहायकको हकमा कुशल अभ्यास प्रमाणपत्र वा कुनै पनि प्रकारको सिफारिस पत्र जारी गर्न बाध्य नहुने स्पष्ट पारेको छ।
नेपाल फार्मेसी परिषद्का रजिष्ट्रार सन्जिब कुमार पाण्डेय द्वारा जारी सूचनामा दर्तावाला लाई नियम अनुसार समय मै विवरण अध्यावधिक गर्न आग्रह गरिएको छ।
मुख्य निर्देशनहरू
- अनिवार्य अद्यावधिक: ठेगाना वा कार्यस्थल परिवर्तन भएमा १ महिनाभित्र जानकारी गराउनुपर्ने।
- सिफारिस रोक्का: विवरण नबुझाउनेलाई ‘सर्टिफिकेट अफ गुड स्ट्यान्डिङ’ र अन्य सिफारिस पत्र नदिइने।
- अनलाइन प्रणाली: परिषद्को वेबसाइटमा रहेको ‘अपडेट नेम रजिस्ट्रेसन’ मार्फत विवरण भर्न सकिने।
- कानुनी आधार: नेपाल फार्मेसी परिषद् नियमावली, २०५९ को परिच्छेद ७ पालना गर्नुपर्ने।

प्रतिक्रिया दिनुहोस