अमेरिका बाहिरिँदा डब्लुएचओ चिन्तित, विश्व स्वास्थ्य सुरक्षा कमजोर हुने चेतावनी
काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अमेरिका सदस्यता बाट बाहिरिने निर्णय प्रति गहिरो चिन्ता व्यक्त गरेको छ। डब्लुएचओ ले यो कदमले केवल अमेरिका मात्र होइन, समग्र विश्वलाई नै कम सुरक्षित बनाउने चेतावनी दिएको छ।
डब्लुएचओका अनुसार अमेरिका संस्थाको संस्थापक सदस्य हो र यसले बिफर उन्मूलन देखि पोलियो, एचआईभी, इबोला, क्षयरोग, मलेरिया, इन्फ्लुएन्जा, खाद्य सुरक्षा लगायत थुप्रै सार्वजनिक स्वास्थ्य उपलब्धिमा महत्वपूर्ण योगदान दिएको छ। त्यसैले अमेरिकी बहिर्गमनको सूचनालाई डब्लुएचओले दुर्भाग्यपूर्ण निर्णयका रूपमा लिएको जनाएको छ।
डब्लुएचओले स्पष्ट पारेको छ कि अमेरिकाको बहिर्गमन सम्बन्धी विषय फेब्रुअरी २ देखि सुरु हुने कार्यकारी बोर्डको नियमित बैठकमा र मे २०२६ मा हुने विश्व स्वास्थ्य सभामा छलफल हुनेछ।
अमेरिकी सरकारले डब्लुएचओले आफ्नो छवि बिगारेको, अपमान गरेको र स्वतन्त्रता खुम्च्याएको आरोप लगाउँदै आएको सन्दर्भमा डब्लुएचओले ती दाबी असत्य भएको बताएको छ। संस्थाका अनुसार सबै सदस्य राष्ट्रसँग सार्वभौमिकताको पूर्ण सम्मान गर्दै सद्भावपूर्वक सहकार्य गर्दै आइएको छ।
कोभिड–१९ महामारीका बेला डब्लुएचओ असफल भएको अमेरिकी आरोपलाई पनि संस्थाले अस्वीकार गरेको छ। डब्लुएचओले महामारी अभूतपूर्व चुनौती भएको स्वीकार्दै आफूले उपलब्ध प्रमाणका आधारमा छिटो र पारदर्शी रूपमा सूचना साझा गरेको दाबी गरेको छ।
मास्क, खोप र भौतिक दूरीको सिफारिस गरिएको भए पनि कुनै पनि चरणमा अनिवार्य मास्क, खोप वा लकडाउनको आदेश नदिइएको स्पष्ट गरिएको छ। ती निर्णय सम्बन्धित देशकै भएको डब्लुएचओको भनाइ छ।
डब्लुएचओका अनुसार २०१९ डिसेम्बर ३१ मा चीनको वुहानमा अज्ञात कारणको निमोनियाका घटनाबारे पहिलो जानकारी पाए लगत्तै चीनसँग थप विवरण मागिएको थियो र आपतकालीन व्यवस्थापन प्रणाली सक्रिय गरिएको थियो।
२०२० जनवरी ११ मा पहिलो मृत्यु पुष्टि हुनु अघि नै विश्वलाई औपचारिक माध्यम, सार्वजनिक वक्तव्य र सामाजिक सञ्जाल मार्फत सचेत गराइ सकिएको डब्लुएचओले जनाएको छ।
जनवरी ३०, २०२० मा अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गर्दा चीन बाहिर १०० भन्दा कम संक्रमित र कुनै मृत्यु नभएको पनि संस्थाले स्मरण गराएको छ।
डब्लुएचओले आफूलाई ‘अमेरिकी हितविरुद्धका देशहरूद्वारा निर्देशित राजनीतिक संस्था’ भन्ने आरोप पनि अस्वीकार गरेको छ। संयुक्त राष्ट्रसंघको विशेष एजेन्सीका रूपमा १९४ सदस्य राष्ट्रद्वारा शासित डब्लुएचओ निष्पक्ष रहेको र सबै देशको सेवाका लागि काम गरिरहेको संस्थाको भनाइ छ।
संस्थाले अधिकांश सदस्य राष्ट्रको निरन्तर समर्थन प्रति आभार व्यक्त गर्दै पछिल्लो वर्ष अपनाइएको डब्लुएचओ महामारी सम्झौतालाई भविष्यका महामारीबाट विश्वलाई सुरक्षित राख्ने ऐतिहासिक कदम भनेको छ। हाल सो सम्झौताअन्तर्गत रोगाणु पहुँच तथा लाभ बाँडफाँट प्रणाली सम्बन्धी थप सहमति प्रक्रिया अघि बढिरहेको छ।
डब्लुएचओले भविष्यमा अमेरिका पुनः सक्रिय सहभागितामा फर्किने अपेक्षा व्यक्त गर्दै, सबै मानिसका लागि स्वास्थ्यलाई मौलिक अधिकारका रूपमा सुनिश्चित गर्ने आफ्नो मूल लक्ष्यप्रति प्रतिबद्ध रहने स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस