२ अर्ब ९० करोडको नक्कली स्वास्थ्य उद्धार ठगी: ६ जना पक्राउ, नेपालको पर्यटन छविमा धक्का


काठमाडौं – पर्वतारोहण तथा ट्रेकिङका क्रममा विदेशी पर्यटकको नक्कली उद्धार देखाई बीमा रकम ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा माउन्टेन रेस्क्यु सर्भिस प्रालिका अध्यक्ष जयराम रिमाल, सोही कम्पनीका म्यानेजर विवेक पाण्डे, एभरेस्ट एक्सपिरियन्स एन्ड असिस्टेन्स प्रालिका शेयरधनी तथा अपरेसन विभाग प्रमुख सुवास केसी, सोही कम्पनीका अध्यक्ष तथा नेपाल चार्टर सर्भिस प्रालि का शेयरधनी मुक्ति पाण्डे, नेपाल चार्टर सर्भिस प्रालि का अध्यक्ष रबिन्द्र अधिकारी र उक्त कम्पनीका अपरेसन म्यानेजर विवेक थपलिया रहेका छन।

सीआईबीका अनुसार उच्च हिमाली क्षेत्रमा पदयात्राका क्रममा स्वास्थ्य समस्या परेको देखाई उद्धार गरिएको भन्दै कागजात किर्ते गरी विदेशी बीमा कम्पनीबाट ठूलो रकम असुलिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो। अनुसन्धानमा माउन्टेन रेस्क्यु सर्भिस प्रालि, एभरेस्ट एक्सपिरियन्स एन्ड असिस्टेन्स प्रालि र नेपाल चार्टर सर्भिस प्रालि संलग्न रहेको सीआईबीले जनाएको छ।

ब्युरोका अनुसार ती कम्पनीहरूले यात्रु तथा कार्गो म्यानिफेस्टमा विवरण थपघट गरी किर्ते कागजात तयार गरेका थिए। साथै उद्धार गरिएको भनिएका विदेशी पर्यटकलाई काठमाडौंका विभिन्न अस्पतालमा उपचार गराएको देखाई उपचारसम्बन्धी बिल, मेडिकल रिपोर्ट, भर्ना तथा डिस्चार्ज कागजात बनाइएको थियो। ती कागजातका आधारमा विदेशी बीमा कम्पनीमा बीमा दाबी गरी करिब १९.६९ मिलियन अमेरिकी डलर (झन्डै २ अर्ब ९० करोड ) बराबरको रकम बैंक खातामा प्राप्त गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएको सीआईबीले जनाएको छ।

सीआईबीका अनुसार उक्त ‘फेक रेस्क्यु’ प्रकरणका कारण अन्तर्राष्ट्रिय बीमा कम्पनी र पर्यटनसम्बन्धी संस्थाहरूले नेपाललाई ‘नो गो डेस्टिनेसन फर टुरिस्ट’ भन्दै नकारात्मक सन्देश प्रवाह गरेका छन्। ‘अ स्क्याम अन द रूफ अफ द वर्ल्ड’ र ‘स्टप प्रोभाइडिङ कभर टु टुरिस्ट्स ट्राभलिङ टु नेपाल’ जस्ता शीर्षकमा अन्तर्राष्ट्रिय समाचारसमेत प्रकाशित भएको सीआईबीले उल्लेख गरेको छ।

यस कार्यले नेपालको राष्ट्रिय हित, स्वाभिमान र अन्तर्राष्ट्रिय प्रतिष्ठामा आँच पुगेको ठहर गर्दै मुलुकी अपराध संहिता २०७४ को दफा ५१ अनुसार राष्ट्र हित प्रतिकूल काम सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ। काठमाडौं जिल्ला अदालतको अनुमति लिएर मिति २०८२ माघ ११ गते उनीहरूलाई पक्राउ गरिएको हो। यस प्रकरण बारे थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!