एमबीबीएस भर्ना हुन आफ्नै खुट्टा काट्ने युवक
नयाँ दिल्ली (ब्युरो)- चिकित्सा शिक्षा (एमबीबीएस) अध्ययन गर्ने तीव्र चाहनामा एक युवकले आफ्नै शरीर अंगभंग गरेको हृदयविदारक घटना भारतको उत्तर प्रदेश राज्य स्थित जौनपुरमा सार्वजनिक भएको छ।
डीफार्मा अध्ययन पूरा गरी ‘नीट’ परीक्षाको तयारी गरिरहेका २४ वर्षीय सूरज भास्करले अपाङ्गता कोटाबाट मेडिकल कलेजमा भर्ना सुरक्षित गर्न आफ्नो बायाँ खुट्टाको पञ्जा आफैँले काटेको प्रहरी अनुसन्धानबाट खुलेको छ। कानुनी रूपमा अपाङ्गता प्रमाणपत्र बनाउने प्रयास असफल भएपछि उनले यो चरम बाटो रोजेका हुन।
प्रहरीका अनुसार सूरजले इन्टरनेटमा तरिकाहरू खोजेर ग्राइन्डर मेसिनको प्रयोग गरी आफ्नो खुट्टाको पञ्जा काटेका थिए। घटनालाई लुकाउन उनले प्रयोग गरिएको मेसिन र काटिएको खुट्टाको भाग स्थानीय कुवामा फालेका थिए भने सुरुमा आफू माथि दुई अज्ञात व्यक्तिले आक्रमण गरेको झुठो कथा रचेर प्रहरीमा उजुरी समेत दिएका थिए। यद्यपि, प्रहरीले उनको बयानमा शंका लागेर सुक्ष्म अनुसन्धान गर्दा घटनाको वास्तविकता बाहिर आएको हो।
यो रहस्य सुल्झाउन सूरजको व्यक्तिगत डायरी र उनकी प्रेमिकाको बयान निर्णायक साबित भएको सिटी सर्कलका अधिकारी गोल्डी गुप्ताले जानकारी दिएका छन । डायरीमा उनले मेडिकल भर्नाका लागि भोग्नु परेको मानसिक तनाव र अपाङ्गता कोटा पाउन गरेको योजना बारे उल्लेख गरेका थिए।
प्रहरीले हाल घटनामा प्रयोग भएको ग्राइन्डर मेसिन बरामद गरिसकेको छ। यस घटनाले चिकित्सा शिक्षामा रहेको चर्को प्रतिस्पर्धा र सिट सुरक्षित गर्न विद्यार्थीले झेल्नु पर्ने अस्वाभाविक मानसिक दबाबलाई भयावह रूपमा उजागर गरिदिएको छ।

प्रतिक्रिया दिनुहोस