चिनीजन्य पेय र मदिरामा कर बढाउन डब्ल्यूएचओको आग्रह: सस्तो मूल्यले जनस्वास्थ्यमा जोखिम


काठमाडौँ- चिनीजन्य पेय पदार्थ र मदिरा सस्तो बन्दै जाँदा मोटोपन, मधुमेह, मुटु रोग, क्यान्सर तथा चोट पटक जस्ता नसर्ने रोग र दुर्घटनाको जोखिम बढिरहेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले चेतावनी दिएको छ।

कमजोर कर प्रणालीका कारण यस्ता स्वास्थ्यका लागि हानिकारक वस्तु सस्तो रहँदा विशेष गरी बालबालिका र युवा बढी प्रभावित भएको डब्ल्यूएचओको ठहर छ।

डब्ल्यूएचओले सार्वजनिक गरेका दुई विश्वव्यापी प्रतिवेदनमा सरकारहरूलाई चिनीजन्य पेय र मदिरामा कर उल्लेख्य रूपमा बढाउन आग्रह गरेको छ।

प्रतिवेदनमा भनिएको छ, रोकथाम गर्न सकिने रोग र चोटका कारण स्वास्थ्य प्रणाली माथि आर्थिक दबाब बढिरहेका बेला कमजोर कर नीतिले समस्या झन् गहिरिँदै गएको छ।

डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयेससले भने, ‘स्वास्थ्य कर रोग रोकथाम र स्वास्थ्य प्रवर्द्धनका सबैभन्दा प्रभावकारी औजार मध्ये एक हो। चुरोट, चिनीजन्य पेय र मदिरा जस्ता वस्तुमा कर बढाउँदा हानिकारक उपभोग घट्छ र आवश्यक स्वास्थ्य सेवाका लागि स्रोत जुट्छ।’

प्रतिवेदन अनुसार चिनीजन्य पेय र मदिराको विश्व बजारबाट अर्बौँ डलर नाफा भइरहेको छ। तर सरकारहरूले स्वास्थ्य उद्देश्यका कर मार्फत त्यसको सानो अंश मात्र उठाइ रहेका छन्। दीर्घकालीन स्वास्थ्य र आर्थिक भार भने समाजले व्यहोर्नु परेको डब्ल्यूएचओको निष्कर्ष छ।

डब्ल्यूएचओका अनुसार कम्तीमा ११६ देशले चिनीजन्य पेयमा कर लगाएका छन्। ती मध्ये धेरैले सोडा जस्ता सीमित पेय मात्र समेटेका छन्। १०० प्रतिशत फलफूलको जुस, मीठा दूधजन्य पेय तथा ‘रेडी टु ड्रिङ्क कफी र चिया जस्ता उच्च चिनी भएका उत्पादन भने धेरै देशमा करबाट बाहिर छन्। ऊर्जा पेयमा ९७ प्रतिशत देशले कर लगाएका भए पनि यो अवस्था सन् २०२३ यता परिवर्तन भएको छैन।

अर्को प्रतिवेदनमा कम्तीमा १६७ देशले मदिरामा कर लगाएको र १२ देशले पूर्ण प्रतिबन्ध लगाएको उल्लेख छ। तर सन् २०२२ यता अधिकांश देशमा मदिरा झन् सस्तो वा मूल्य स्थिर रहेको डब्ल्यूएचओले जनाएको छ। मुद्रास्फीति र आम्दानी वृद्धिसँग कर नबढ्दा यस्तो अवस्था आएको प्रतिवेदनको ठहर छ। कम्तीमा २५ देशमा, विशेष गरी युरोपमा, वाइनमा कर नलाग्ने गरेको पनि प्रतिवेदनमा उल्लेख छ।

डब्ल्यूएचओको स्वास्थ्य निर्धारक, प्रवर्द्धन र रोकथाम विभागका निर्देशक डा. एटियेन क्रुगले भने, ‘सस्तो मदिराले हिंसा, चोट र रोग बढाउँछ। उद्योगले नाफा कमाउँदा यसको स्वास्थ्य परिणाम जनताले र आर्थिक लागत समाजले व्यहोर्नु पर्छ ।’

सन् २०२२ को ग्यालप सर्वेक्षणले अधिकांश मानिसले मदिरा र चिनीजन्य पेयमा कर बढाउन समर्थन गरेको देखाएको भए पनि नीति सुधार सुस्त रहेको डब्ल्यूएचओले जनाएको छ। संगठनले ‘३ बाइ ३५ एनिसिएटिभ’ अन्तर्गत सन् २०३५ सम्म चुरोट, मदिरा र चिनीजन्य पेयको वास्तविक मूल्य बढाइ यी वस्तु क्रमशः कम किफायती बनाउने लक्ष्य लिएको छ। डब्ल्यूएचओका अनुसार यसले जनस्वास्थ्य जोगाउन र स्वास्थ्य क्षेत्रमा लगानी बढाउन सहयोग पुग्नेछ ।

प्रतिवेदनका मुख्य तथ्य

  • मदिरामा करको हिस्सा विश्वव्यापी रूपमा न्यून छ। बियरमा औसत १४ प्रतिशत र स्पिरिट्समा २२.५ प्रतिशत मात्र कर छ।
  • चिनीजन्य पेयमा कर कमजोर र सीमित छ। साधारण सोडाको मूल्यमा करको हिस्सा औसत २ प्रतिशत मात्रै छ।
  • थोरै देशले मात्र मुद्रास्फीति अनुसार कर समायोजन गर्ने गरेका छन्, जसले हानिकारक वस्तु समयसँगै अझै सस्तो बनाइरहेको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!