‘डाक्टर माथि हात उठाउनेलाई एनएमएले त्यही भाषामा कडा जवाफ दिनुपर्छ : डा. हुलास अग्रवाल’
विराटनगर – नेपाल मेडिकल एसोसिएसन कार्यकारिणी समितिको निर्वाचनमा ‘टिम बद्री’, तर्फबाट सहसचिव पदका उम्मेदवार डा. हुलास अग्रवालले चिकित्सकको सुरक्षामा एनएमए निर्णायक रूपमा उभिनुपर्ने बताएका छन्।
विराटनगरमा आयोजित ‘टिम बद्री विथ डक्टर्स’ कार्यक्रममा उनले भने, ‘डाक्टरलाई जसले कु*ट*पि*ट गर्छ, ठो*क्छ, चाहे त्यो व्यवस्थापनको मान्छे होस वा अन्य एनएमएले उनीहरूलाई त्यही भाषामा कडा जवाफ फर्काउनुपर्छ ।’
चिकित्सकहरूले किन टिम बद्रीलाई मतदान गर्ने भन्ने प्रश्नको उत्तर दिँदै डा. अग्रवालले कार्यस्थल सुरक्षाका लागि आफूहरूले पहल कदमी लिएको दाबी गरे। ‘वर्कप्लेस हेरासमेन्ट पोलिसी हामीले नै ड्राफ्ट गरेर पहिलो पटक ल्याएका हौं। स्मरण रहोस् एनएमए का अध्यक्ष मेडिकल काउन्सिलका पदेन सदस्य हुन्छन,’ उनले भने – ‘त्यो नीति ठूलो परिवर्तन होइन त, हामी रेसिडेन्टको लागि काम गरिरहेका छौं ।’
रेजिडेन्ट चिकित्सकका मुद्दामा टिम बद्री निरन्तर सक्रिय रहेको उल्लेख गर्दै उनले वर्कप्लेस हेरासमेन्ट पोलिसी कार्यान्वयनका लागि पनि आफ्नै टिम जित्नुपर्ने बताए। ‘हामी रेजिडेन्टका लागि काम गरिरहेका छौं। कागजमा सीमित नभई कार्यान्वयन गर्न टिम बद्री आवश्यक छ,’ उनको भनाइ थियो।
आफू आन्दोलनबाट खारिएको उम्मेदवार भएको दाबी गर्दै डा. अग्रवालले भने, ‘रेजिडेन्ट आन्दोलन देखि विभिन्न पेशागत संघर्षमा म सहभागी हुँदै आएको छु। अस्ति नै कन्जुमर कोर्टको कुरा उठ्दाखेरि एमडी परीक्षाको १०–१५ दिन अघि पनि सिडिओ कार्यालय र एनएमएको धर्नामा उभिएको छु। त्यसैले हामी टाइम टेस्टेड टिम हौं।’
विगत देखि हाल सम्मको मतदान प्रवृत्तिले चिकित्सकको भरोसा कसलाई छ भन्ने स्पष्ट हुने उनको भनाइ छ।
युवा चिकित्सकहरूको उल्लेख्य सहभागिता टिम बद्री मै रहेको उल्लेख गर्दै डा. हुलासले थपे, ‘रेजिडेन्टलाई हेरास गर्ने, मेडिकल अफिसरको तलब समयमा नदिने जो कोही विरुद्ध हामी आन्दोलन गरेरै भए पनि लड्छौं।’
यस पटक पनि परिवर्तनको पक्षमै निर्वाचन हुने र टिम बद्रीले नै नेतृत्व गर्ने डा. अग्रवालको दाबी छ।

प्रतिक्रिया दिनुहोस