नयाँ वर्ष सन २०२६: स्वस्थ जीवनतर्फ सात व्यवहारिक संकल्प


अंग्रेजी नयाँ वर्ष २०२६ को सुरुवातसँगै धेरैले आफ्नो जीवनशैलीमा सकारात्मक परिवर्तन गर्ने संकल्प गर्छन्। विगत वर्षका कमजोरी नदोहोर्याउने र स्वास्थ्यलाई प्राथमिकतामा राख्ने चाहना यस समय स्वाभाविक हुन्छ।

यही सन्दर्भमा स्वस्थ जीवनशैली अपनाउन सहयोगी हुने, नेपालकै सामाजिक र जीवनशैली सँग सुहाउँदा सात बानीबारे मुलुकका चिकित्सक, मनोचिकित्सक, आयुर्वेदाचार्य, डाइटिसियन र प्रेरक वक्तासँग गरिएको परामर्शका आधारमा यो सामग्री तयार गरिएको हो। यी बानीलाई नयाँ वर्षको संकल्पका रूपमा अपनाउन सकिन्छ।

१. मुस्कान र कृतज्ञतासँग दिनको सुरुवात

हरेक बिहान नयाँ अवसर हो। जीवन पुनः फर्केर नआउने भएकाले प्रत्येक दिनलाई उत्साह र सन्तोषका साथ बिताउनु नै सार्थक हुन्छ। निद्राबाट ब्यूँझिँदा मुस्कान र कृतज्ञताको भावना सहित दिन सुरु गर्दा मानसिक अवस्था सकारात्मक रहन्छ। कृतज्ञताले दिन भरि मन शान्त राख्न सहयोग गर्छ भने मुस्कानले सकारात्मक सोचलाई बलियो बनाउँछ।

२. विषाक्त व्यक्तिसँग दूरी कायम गर्नु

विषाक्त सम्बन्धले मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ। सम्बन्ध चाहे प्रेम, मित्रता वा पारिवारिक नै किन नहोस्, स्पष्ट सीमा निर्धारण आवश्यक हुन्छ। नकारात्मक ऊर्जा दिने व्यक्ति भन्दा सकारात्मक अनुभूति दिलाउने व्यक्तिसँग समय बिताउनु लाभदायक हुन्छ। दूरी कायम गर्न नसकिएमा त्यस्ता व्यक्तिका व्यवहारलाई गम्भीर रूपमा नलिने र आफूलाई प्रभावित हुन नदिने अभ्यास गर्नु पर्छ।

३. दिनहुँ ८–१० हजार पाइला हिँड्ने बानी

दैनिक ८ देखि १० हजार पाइला हिँड्ने लक्ष्य स्वास्थ्यका लागि उपयोगी मानिन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार नियमित हिँडाइले मुटु रोग, मधुमेह, मोटोपना, उच्च रक्तचाप, तनाव र डिप्रेसनको जोखिम घटाउँछ। यसले करिब ३०० देखि ५०० क्यालोरी खर्च गराउँछ र शारीरिक सँगै मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ।

४. निन्द्रालाई प्राथमिकता

पर्याप्त निन्द्रा राम्रो स्वास्थ्यको आधार हो। काम वा मनोरञ्जन भन्दा निन्द्रालाई प्राथमिकता दिँदा मुड सुधारिन्छ, मानसिक सन्तुलन कायम रहन्छ र रोगसँग लड्ने शरीरको क्षमता बलियो हुन्छ। पर्याप्त निन्द्राले मोटोपना र मधुमेहको जोखिम घटाउनुका साथै छालाको स्वास्थ्य, आत्मविश्वास र समग्र व्यक्तित्वमा पनि सकारात्मक असर पार्छ।

५. सन्तुलित प्रोटिनयुक्त आहार

मानव शरीर प्रोटिनमा आधारित संरचना हो। मांसपेशीको मर्मत, रोग प्रतिरोधात्मक क्षमता र ऊर्जाका लागि प्रोटिन आवश्यक हुन्छ। सन्तुलित मात्रामा प्रोटिन युक्त खाना सेवन गर्दा मांसपेशी बलियो रहन्छ, शारीरिक क्षमता बढ्छ र सक्रिय जीवनशैली कायम राख्न सहयोग पुग्छ।

६. वर्षमा एक पटक सम्पूर्ण स्वास्थ्य परीक्षण

वर्षमा कम्तीमा एक पटक सम्पूर्ण शरीरको जाँच गराउनु दीर्घकालीन स्वास्थ्यका लागि महत्त्वपूर्ण हुन्छ। यसले रोग प्रारम्भिक अवस्थामै पहिचान गर्न र समय मै उपचार सुरु गर्न मद्दत गर्छ।

७. बिना अपेक्षा अरूको सहयोग

अरूलाई सहयोग गर्ने तर प्रतिफलको अपेक्षा नगर्ने मानसिकताले सकारात्मक सम्बन्ध निर्माण गर्छ। यस्तो व्यवहारले आत्म सन्तुष्टि बढाउनुका साथै मानसिक स्वास्थ्यमा पनि राम्रो प्रभाव पार्छ। समय, ऊर्जा वा स्रोत सहयोग गर्दा त्यसलाई मानवीय दायित्वका रूपमा लिनु स्वास्थ्यकर सोच हो।

यदि तपाईं सन २०२६ मा स्वस्थ र सक्रिय जीवन चाहनुहुन्छ भने, यी बानीलाई दैनिक जीवनमा समावेश गर्नुहोस्।

नेपालहेल्थप्रेस डटकम परिवारको तर्फबाट सम्पूर्ण पाठक, विज्ञापनदाता, शुभचिन्तक तथा विश्व भर छरिएर रहेका नेपाली भाषी र नेपाली दाजुभाइ दिदी बहिनी, बन्धु बान्धव हरूमा अंग्रेजी नयाँ वर्ष २०२६ को हार्दिक मङ्गलमय शुभकामना।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!