घरको खाना र कडा व्यायाम: ६०औँ जन्मदिनमा सलमान खानको फिटनेस दिनचर्या चर्चामा
नयाँ दिल्ली (ब्युरो)- बलिउड अभिनेता सलमान खान फिल्म रिलिज नहुँदा पनि चर्चामा रहि रहन्छन्। सामाजिक सञ्जालमा सार्वजनिक हुने उनका जिम सम्बन्धी पोस्टले बारम्बार प्रशंसकको ध्यान तान्ने गरेको छ ।
सलमान खान २७ डिसेम्बर अर्थात शनिबार ६० वर्ष पूरा गरेका छन । उमेरका बाबजुद उनी फिट र सक्रिय देखिनुका कारण उनको फिटनेस दिनचर्या फेरि चर्चामा आएको छ।
६० औँ जन्मदिन अघि उनले सामाजिक सञ्जालमा सेयर गरेका पुराना तर प्रभावशाली फिटनेस तस्बिर सार्वजनिक भए लगत्तै इन्टरनेटमा चर्चा बढेको हो। धेरैले ५९ वर्षको उमेरमा पनि उनी कसरी यति ऊर्जावान् रहन्छन् भन्ने जिज्ञासा व्यक्त गरेका छन्।
फिट रहन सलमानको अनुशासन खानाको थाल (प्लेट) देखि जिम सम्म स्पष्ट देखिन्छ। निश्चित रुटिन पालना गर्दै उनले मस्कुलर शरीर र मजबुत एब्स कायम राखेका छन्।
पुरानो तर प्रभावकारी अभ्यास
सलमान खान पछिल्ला २० वर्ष भन्दा बढी समय देखि फिटनेस प्रशिक्षक राकेश आर उद्दियारसँग प्रशिक्षण लिँदै आएका छन्। उनी नयाँ ट्रेन्ड पछ्याउनु भन्दा पुरानो शैलीको बडी बिल्डिङ मै विश्वास राख्छन्। उनको प्रशिक्षण ‘जायन्ट सेट’ मा आधारित छ, जसलाई उच्च तीव्रताको निरन्तर व्यायाम (एचआईआईटी) का रूपमा पनि लिइन्छ। यसमा लामो ब्रेक बिनै लगातार अभ्यास गरिन्छ।
जायन्ट सेट वर्कआउट के हो?
सलमान एकै मांसपेशी समूहका लागि करिब १० प्रकारका अभ्यास गर्छन्। इनक्लाइन प्रेस, पुश अप्स, फ्लाइ र चेस्टका विभिन्न भेरिएसनहरू यसमा पर्छन्। एउटा अभ्यास सकिना साथ अर्कोमा प्रवेश गरिन्छ। अत्यधिक तौल उठाउने देखावटी अभ्यास भन्दा भोल्युम ट्रेनिङमा उनको ध्यान केन्द्रित हुन्छ, जसले मांसपेशीमा निरन्तर र प्रभावकारी काम गराउँछ।
दैनिक फिटनेस दिनचर्या
सलमानको फिटनेस जिममा मात्र सीमित छैन। उनको सम्पूर्ण जीवनशैली अनुशासनमा आधारित छ। बिहान सबेरै उठेर खाली पेट कार्डियो व्यायाम गर्नु उनको नियमित अभ्यास हो। दिनको कुनै पनि समयमा वेट ट्रेनिङ गर्छन् र सातामा छ दिन व्यायाम छुटाउँदैनन्। छायांकनमा कति व्यस्त भए पनि वेट ट्रेनिङ नछोड्ने उनको बानी छ। प्रशिक्षकका अनुसार वर्कआउट र कार्डियो नगरी सलमानलाई राम्रो निद्रा समेत लाग्दैन ।
‘मलाई घरको खाना मात्र चाहिन्छ’
सलमान खानको आहार पनि सादा र सन्तुलित मानिन्छ। उनी दिनमा करिब पाँच पटक खाना खान्छन्। बिहान पोरीज, अण्डा र फलफूल समावेश हुन्छ। दिउँसो घरमै बनेको चिकन वा माछा, थोरै भात र धेरै तरकारी खान्छन्। सलाद उनको थालको अनिवार्य हिस्सा हो। बाहिरको खाना उनी प्रायः नखाने बताइन्छ। उनको रोजाइ घर मै, विशेष गरी आमाको हातबाट बनेको खाना हो।
सातामा एक पटक ‘चिट मील’ खान पाउने छुट भए पनि क्यालोरी २ हजार भन्दा माथि जान दिँदैनन्। कमजोरीका रूपमा बिरयानी मन पराउने भए पनि सीमित मात्रामा खाने गर्छन्।

प्रतिक्रिया दिनुहोस