तनाव र बेचैनी ? सिद्धासन योग सहयोगी


सिद्धासन योग एक ध्यानात्मक आसन हो जसलाई योगमा सर्वोत्तम मानिन्छ । जसले मनलाई शान्त पार्छ र सिद्धिहरू प्रदान गर्छ। यो आसन विशेष गरी भागदौडको जीवनशैलीमा तनाव कम गर्न र एकाग्रता बढाउन उपयोगी हुन्छ। यसको नियमित अभ्यासले शारीरिक र मानसिक स्वास्थ्यलाई सन्तुलित गर्छ ।

आजकल कामको दबाब, मानसिक तनाव र चिन्ताका कारण धेरै मानिस डिप्रेसन जस्ता समस्यामा पर्ने गरेका छन्। यस्ता अवस्थाबाट जोगिन सन्तुलित आहारसँगै योग अभ्यास उपयोगी मानिन्छ। तर प्रायः स्वास्थ्य समस्या देखिए पछि मात्र हामी सचेत हुन्छौं। यही सन्दर्भमा, मन शान्त राख्न र एकाग्रता बढाउन सहयोग गर्ने योगासन मध्ये सिद्धासन प्रमुख मानिन्छ।

सिद्धासन योग के हो

सिद्धासन योगलाई योग विज्ञानको प्राचीन र महत्वपूर्ण ध्यान आसन मध्ये एक मानिन्छ। ‘सिद्ध’ शब्दको अर्थ पूर्ण वा ज्ञानी भन्ने हुन्छ। यो आसनमा एक खुट्टाको एडी पेरिनियमको नजिक राखी अर्को खुट्टाको एडी जननांग माथि राखिन्छ। यस क्रममा मेरुदण्ड सीधा राखेर ध्यान केन्द्रित गरिन्छ।

भारत सरकारको ‘आयुष मन्त्रालय’का अनुसार सिद्धासनले मनलाई शान्त राख्नुका साथै शरीरको ऊर्जा अर्थात् प्राणलाई माथि तर्फ प्रवाहित गर्न मद्दत गर्छ।

घुँडा वा नितम्बमा समस्या भए कुर्सीमा अभ्यास गर्नुहोस, उच्च रक्तचापमा सतर्क रहनु होस्। यो आसन सुरु गर्नेहरूले प्रशिक्षकको मार्गदर्शन लिनु लाभदायक हुन सक्छ।

सिद्धासन गर्ने तरिका

सिद्धासनको अभ्यास सरल मानिन्छ र नियमित अभ्यासले राम्रो लाभ दिन्छ

  • योगा म्याटमा दण्डासनको अवस्थामा बस्नुहोस्।
  • बायाँ खुट्टा घुँडाबाट मोडेर एडी पेरिनियमको बीचमा मजबुत रूपमा राख्नुहोस्।
  • त्यस पछि दायाँ खुट्टा मोडेर यसको एडी बायाँ खुट्टाको एडीमाथि राख्नुहोस्।
  • दायाँ खुट्टाका औंलालाई बायाँ जाँघ र पिँडुलाको जोड बीच अड्याउनुहोस् ।
  • मेरुदण्ड, घाँटी र टाउको सीधा राखी आँखा बन्द गरेर ध्यान केन्द्रित गर्नुहोस्।

सिद्धासनका फाइदा

सिद्धासन नियमित अभ्यास गर्दा पाचन प्रणाली सुदृढ हुन्छ। यसले दम, मधुमेह जस्ता केही शारीरिक तथा मानसिक समस्यामा पनि सहयोग पुर्‍याउने विश्वास गरिन्छ। साथै नितम्ब, घुँडा र खुट्टाको जोर्नी क्षेत्रमा राम्रो स्ट्रेचिङ हुन्छ।

यदि भुइँमा बसेर अभ्यास गर्न कठिन भए कुर्सीको सहारा लिएर पनि अभ्यास गर्न सकिन्छ। तर उच्च रक्तचाप भएका व्यक्तिले गहिरो सास प्रश्वास वा प्राणायाम गर्दा विशेष सावधानी अपनाउनुपर्ने विशेषज्ञको सुझाव छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!