नेपालको प्रस्तावमा विश्वभर पहिलो पटक ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइँदै
काठमाडौँ – नेपालको कुटनीतिक पहलमा संयुक्त राष्ट्रसंघले घोषणा गरेको ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ (इन्टरनेशनल वेलनेस डे) आज बुधबार नेपाल सहित विश्व भर विविध कार्यक्रमका साथ मनाइँदैछ।
स्वास्थ्यलाई केवल रोगको अनुपस्थिति मात्र नभई शारीरिक, मानसिक र सामाजिक सन्तुलनका रूपमा बुझाउन नेपालले राखेको प्रस्ताव राष्ट्रसंघको महासभाले पारित गरेपछि यो दिवस मनाउन लागिएको हो।
यस ऐतिहासिक उपलब्धिलाई स्वास्थ्य मन्त्रालयले नेपालको ठुलो कुटनीतिक सफलताका रूपमा लिएको छ। मन्त्रालयका अनुसार यसले विश्वभर स्वस्थ जीवनशैलीको प्रवर्द्धनमा नेपालको नेतृत्वदायी भूमिकालाई स्थापित गरेको छ।
१५ मिनेट ध्यानमा १५ लाखको सहभागिता
दिवसलाई भव्य बनाउन सरकारले बुधबार दिउँसो १:१५ बजे देशभर एक साथ १५ मिनेटको ध्यान तथा योग अभ्यास सञ्चालन गर्दैछ। ‘डेस्क योग’ र ‘डिजिटल डिटक्स’ समेत समावेश गरिएको यस विशेष सत्रमा कम्तीमा १५ लाख मानिसलाई सहभागी गराउने लक्ष्य राखिएको छ। यसका लागि प्रदेश सरकार, स्थानीय तह, शैक्षिक संस्था र निजी क्षेत्रलाई समेत अपिल गरिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल ‘गनेस’ को अध्यक्षतामा बसेको उच्चस्तरीय बैठकले दिवस मनाउन विभिन्न ९ बुँदे कार्ययोजना पारित गरेको थियो। जस अन्तर्गत काठमाडौँमा एक बृहत् ध्यान सत्रको आयोजना गरी ‘आरोग्य पर्यटन रणनीति (२०२६–२०३५)’ सार्वजनिक गर्ने कार्यक्रम छ।
विदेशमा ‘वेलनेस नेपाल’ र प्रवर्द्धनका कार्यक्रम
परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डको समन्वयमा विदेश स्थित नेपाली दूतावास तथा नियोगहरूमा ‘वेलनेस नेपाल’ थिममा प्रवर्द्धनात्मक कार्यक्रमहरू आयोजना भइरहेका छन। विदेशी टुर अपरेटर र सञ्चारकर्मीहरूलाई आमन्त्रण गरी नेपालको आरोग्य पर्यटन र योग अभ्यासका भिडियोहरू प्रदर्शन गरिँदैछ।
निजी क्षेत्रको साथ र सहुलियत
आरोग्य दिवसका अवसरमा देशभरका स्पा, जिम र योग केन्द्रहरूले आज बुधबारका दिन निःशुल्क परामर्श वा सेवा शुल्कमा विशेष छुट दिने भएका छन। सञ्चार क्षेत्रमा पनि जनचेतना फैलाउन नेपाल टेलिकम र एनसेलले आरोग्यसम्बन्धी ‘रिङ्गब्याक टोन’ राखेका छन् भने सामाजिक सञ्जालमा ह्यासट्याग अभियान समेत सञ्चालन गरिएको छ।
कार्यक्रमलाई थप प्रभावकारी बनाउन पर्यटन मन्त्रालयकी सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा एक निर्देशक समिति गठन गरिएको छ, जसमा निजी क्षेत्रका होटल, ट्राभल र स्पा संघका प्रतिनिधिहरू सहभागी छन।
नेपालले विश्व मञ्चमा आरोग्यको नयाँ मार्गचित्र प्रस्तुत गर्दै आफ्नो ‘सफ्ट पावर’ प्रदर्शन गर्ने यो अवसरले नेपाललाई विश्वकै आरोग्य पर्यटकीय गन्तव्यका रूपमा चिनाउने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस