अनुसन्धान

छालाको रङ गाढा हुँदा पल्स अक्सिमिटरले अक्सिजन बढी देखाउने: हाइपोक्सेमिया छुट्ने जोखिम


काठमाडौँ- छालाको रङ गाढा भएका बिरामीमा घरमै प्रयोग हुने पल्स अक्सिमिटरले रगतको अक्सिजन स्तर वास्तविक भन्दा बढी देखाउने सम्भावना उच्च रहेको एक नयाँ अध्ययनले देखाएको छ।

बेलायती चिकित्सकीय जर्नल ‘द बीएमजे’ मा १४ जनवरी २०२६ मा यो अध्ययन प्रकाशित गरिएको छ जसलाई 👉 यहाँ क्लिक गरेर पढ्न सकिन्छ। अध्ययन अनुसार यसले अक्सिजन कमी (हाइपोक्सेमिया) समय मै पहिचान हुन नसक्ने जोखिम बढाउन सक्छ।

बेलायतको नेसनल हेल्थ सर्भिस (एनएचएस) ले कोभिड–१९ महामारीका बेला प्रयोग गरेको ‘कोभिड अक्सिमेट्री@होम’  योजना अन्तर्गत उपलब्ध गराइएका पाँच प्रकारका फिङ्गर टिप पल्स अक्सिमिटरको कार्यक्षमता मूल्याङ्कन गर्न यो अध्ययन गरिएको हो। अध्ययनमा सन २०२२ जुन देखि २०२४ अगस्ट सम्म इंग्ल्यान्डका २४ वटा आइसीयूमा भर्ना ९०३ गम्भीर बिरामी सहभागी थिए।

गाढा छालामा ‘एसपीओ २’ बढी देखियो

अध्ययनले ११ हजार १८ जोडी मापन (‘एसपीओ २’ र ‘एसएओ २’) विश्लेषण गरेको छ। नतिजा अनुसार छालाको रङ गाढा भएका बिरामीमा पल्स अक्सिमिटर ले देखाउने अक्सिजन स्याचुरेसन (‘एसपीओ २’) औसतमा ०.६ देखि १.५ प्रतिशत सम्म बढी देखिएको पाइयो। तुलना गर्दा छालाको रङ हलुका भएका बिरामीमा यस्तो त्रुटि कम थियो।

पल्स अक्सिमिटरबाट देखिने ‘एसपीओ २’ लाई धमनीको रगत परीक्षणबाट प्राप्त वास्तविक अक्सिजन स्तर (एसएओ२) सँग तुलना गरिएको थियो, जसलाई ‘गोल्ड स्ट्यान्डर्ड मानिन्छ। अध्ययनका अनुसार सबै परीक्षण गरिएका अक्सिमिटरले कम अक्सिजन स्तरमा बढी र उच्च अक्सिजन स्तरमा कम देखाउने प्रवृत्ति देखाए।

गम्भीर अक्सिजन कमी छुट्ने सम्भावना

सबै भन्दा गम्भीर कुरा के देखियो भने छालाको रङ गाढा हुँदै जाँदा हाइपोक्सेमिया पहिचान गर्न नसक्ने ‘फल्स नेगेटिभ’ दर उल्लेख्य रूपमा बढेको देखियो । उदाहरणका लागि, ‘एसपीओ २’ ९४ प्रतिशत भन्दा माथि देखिए पनि वास्तविक ‘एसपीओ २’ ९२ प्रतिशत वा त्यो भन्दा कम भएको अवस्था गाढा छालाका बिरामीमा ५.३ देखि ३५.३ प्रतिशत सम्म बढी देखियो। यो अनुपात हलुका छालाका बिरामीको तुलनामा २.३ देखि ७.१ गुणा सम्म बढी थियो।

यसको विपरीत, गलत रूपमा अक्सिजन कमी देखाउने ‘फल्स पोजिटिभ’ दर भने गाढा छालामा कम देखिएको अध्ययनले जनाएको छ।

उपचार ढिलो हुन सक्ने चेतावनी

अध्ययन टोलीका अनुसार पल्स अक्सिमिटरले अक्सिजन स्तर बढी देखाउँदा गम्भीर अक्सिजन कमी समय मै नदेखिन सक्छ, जसले उपचार ढिलो सुरु हुने वा सुरु नै नहुने जोखिम बढाउँछ। विशेष गरी घरमै अक्सिमिटर प्रयोग गरेर अवस्था निगरानी गरि रहेका बिरामीका लागि यो चिकित्सकीय रूपमा महत्वपूर्ण समस्या हुन सक्ने अध्ययनको निष्कर्ष छ।

वस्तुगत रूपमा छालाको रङ मापन

यस अध्ययनको विशेषता छालाको रङ मापनमा स्पेक्ट्रोफोटोमिटर प्रयोग गर्नु हो। यसले जातीयता वा स्वघोषित छाला प्रकारमा आधारित अघिल्ला अध्ययनको सीमालाई हटाएर छालाको रङलाई वैज्ञानिक रूपमा मापन गरेको शोधकर्ताहरूले बताएका छन।

अध्ययनले एनएचएसद्वारा वितरण गरिएका पाँचै पल्स अक्सिमिटरले छालाको रङ गाढा भएका बिरामीमा ‘एसपीओ २’ उच्च देखाउने स्पष्ट प्रमाण दिएको छ। यसले हाइपोक्सेमिया पहिचानमा चिकित्सकीय रूपमा महत्वपूर्ण असर पार्न सक्ने भन्दै उपकरणको डिजाइन, नियमन र प्रयोग सम्बन्धी नीतिमा पुनर्विचार आवश्यक रहेको संकेत गरेको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!