अनुसन्धान
शाकाहारी आहारले सय वर्ष बाँच्ने सम्भावना घटाउन सक्छ: चिनियाँ वृद्धमा गरिएको अध्ययनको खुलासा
काठमाडौँ- ८० वर्ष भन्दा माथिका वृद्धमा शाकाहारी आहार अपनाउने व्यक्तिहरूको सय वर्ष सम्म बाँच्ने सम्भावना मासाहारीको तुलनामा कम देखिएको एक अध्ययनले देखाएको छ। ‘द अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रिसन’ मा प्रकाशित अध्ययन 👉 यहाँ क्लिक गरेर पढ्न सकिन्छ। यो चिनियाँ अध्ययनले उच्च उमेर समूहमा सन्तुलित आहारको महत्व औंल्याएको छ।
चिनियाँ दीर्घकालीन स्वास्थ्य तथा दीर्घायु सर्वेक्षण (सिएलएचएस) का तथ्यांक प्रयोग गरी गरिएको यस अध्ययनमा ८० वर्ष भन्दा माथिका ५,२०३ जनालाई समेटिएको थियो। सन १९९८ देखि २०१८ सम्म पछ्याइएको सहभागी मध्ये १,४५९ जना सय वर्ष पुगेका थिए। उनीहरूलाई १०० वर्ष नपुग्दै मृत्यु भएका ३,७४४ जनासँग तुलना गरिएको हो।
अध्ययन अनुसार मासाहारीको तुलनामा शाकाहारीको सय वर्ष पुग्ने सम्भावना १९ प्रतिशत कम देखियो। विशेष गरी पूर्ण रूपमा शाकाहारी (भेगन) आहार अपनाउनेमा यो सम्भावना अझ कम, करिब २९ प्रतिशतले घटेको पाइयो। माछा खाने शाकाहारी (पेस्को भेजिटेरियन) तथा दूध अण्डा खाने शाकाहारी (ओभो ल्याक्टो) समूहमा भने उल्लेख्य फरक देखिएन।
शरीर तौल सूचकांक (बीएमआई) कम भएका, अर्थात कुपोषणको जोखिममा रहेका वृद्धमा शाकाहारी आहारको नकारात्मक असर स्पष्ट देखिएको अध्ययनले जनाएको छ। बीएमआई १८.५ भन्दा कम भएका वृद्धमा शाकाहारीको सय वर्ष बाँच्ने सम्भावना उल्लेख्य रूपमा कम थियो। सामान्य वा बढी तौल भएका समूहमा भने यस्तो सम्बन्ध देखिएन।
अनुसन्धानकर्ताहरूका अनुसार उच्च उमेरमा शरीरलाई चाहिने पर्याप्त प्रोटिन, ऊर्जा र सूक्ष्म पोषक तत्वको कमी हुँदा दीर्घायुमा असर पर्न सक्छ। ‘८० वर्ष भन्दा माथिका वृद्ध, विशेष गरी कम तौल भएका व्यक्तिका लागि पशुजन्य र वनस्पतिजन्य दुवै प्रकारका खाद्य पदार्थ समेटिएको सन्तुलित र गुणस्तरीय आहार दीर्घायुका लागि महत्वपूर्ण देखिन्छ,’ अध्ययनको निष्कर्षमा भनिएको छ।
विश्व भर ८० वर्ष भन्दा माथिको जनसंख्या तीव्र रूपमा बढिरहेको सन्दर्भमा यो अध्ययनले वृद्धावस्थामा आहार छनोट गर्दा उमेर, तौल र पोषण अवस्थालाई ध्यान दिनुपर्ने संकेत गरेको छ।

प्रतिक्रिया दिनुहोस