मांसपेसीको दुखाइमा ‘अग्निकर्म’को प्रभावबारे सुर्खेतमा अनुसन्धान गरिने


काठमाडौँ- सुर्खेत स्थित प्रादेशिक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रमा मांसपेसी र हाडजोर्नीको दुखाइ कम गर्न आयुर्वेदिक ‘अग्निकर्म’ विधिको प्रभावकारिता सम्बन्धी वैज्ञानिक अनुसन्धान सुरु हुने भएको छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी) ले प्रमुख अनुसन्धानकर्ता डा. सरोजमणि पोखरेलको नेतृत्वमा हुने यस क्लिनिकल अध्ययनलाई औपचारिक स्वीकृति दिए सँगै परम्परागत उपचार पद्धतिलाई आधुनिक चिकित्सा विज्ञानको कसीमा परीक्षण गर्ने बाटो खुलेको हो।

परिषद्को गत सोमबार बसेको बैठकले अस्पतालका प्रमुख अनुसन्धानकर्ता डा. सरोजमणि पोखरेलद्वारा प्रस्तावित अनुसन्धान प्रोटोकललाई अनुमोदन गरेको हो।

यस अध्ययन अन्तर्गत मांसपेसी तथा हाडजोर्नीको दुखाइ भएका बिरामीहरूमा आयुर्वेदिक उपचार विधि ‘अग्निकर्म’ ले कस्तो प्रभाव पार्छ भन्ने विषयमा क्लिनिकल परीक्षण गरिनेछ।

विशेषगरी दुखाइ कम गर्ने क्षमता (एनाल्जेसिक इफेक्ट) को वैज्ञानिक मूल्याङ्कन गर्नका लागि यो पाइलट अध्ययन सुरु गर्न लागिएको हो। अनुसन्धान कार्यमा डा. पोखरेललाई लक्ष्मी नारायण तिवारी जैसीले सह अनुसन्धानकर्ताका रूपमा सहयोग गर्नेछन।

परिषदले यस अनुसन्धानलाई न्यून जोखिम युक्त श्रेणीमा राखी ‘द्रुत समीक्षा प्रक्रिया’ मार्फत अनुमति दिएको छ।

यो अध्ययन अप्रिल २०२६ बाट सुरु भई जुलाई २०२६ सम्म सञ्चालन हुने कार्यतालिका रहेको छ। यद्यपि, परिषद्ले प्रदान गरेको यो सैद्धान्तिक स्वीकृति आगामी एक वर्ष अर्थात १९ अप्रिल २०२७ सम्मका लागि मान्य हुने उल्लेख गरिएको छ।

अनुसन्धानको स्वीकृत सर्त अनुसार अनुसन्धानकर्ताले अन्तर्राष्ट्रिय मापदण्ड र परिषद्को निर्देशिकाको पूर्ण पालना गर्नु पर्नेछ। परिषद्का सदस्य सचिव डा. प्रमोद जोशीका अनुसार अनुसन्धान अवधि भर हरेक ६ महिनामा प्रगति प्रतिवेदन र अध्ययन सम्पन्न भए पछि अन्तिम प्रतिवेदन परिषदमा अनिवार्य रूपमा पेस गर्नु पर्नेछ। स्वीकृत प्रोटोकलमा कुनै पनि प्रकारको संशोधन गर्नु परेमा परिषदको पूर्व अनुमति लिनुपर्ने प्रावधान समेत राखिएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!