अनियमित खानपानले कलेजोको जैविक घडी बिग्रने: नेचर मेटाबोलिज्ममा प्रकाशित नयाँ अध्ययन
काठमाडौं- अनियमित खानपान र जीवनशैलीले शरीरको जैविक घडी मात्र होइन, कलेजोबाट रगतमा निस्कने महत्त्वपूर्ण प्रोटिनको सन्तुलन समेत बिगार्ने गरेको नयाँ अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ।
नेचर मेटाबोलिजम जर्नलमा यो अध्ययन प्रकाशित भएको छ। जसलाई यहाँ 👉 क्लिक गरेर पढ्न सकिन्छ। अध्ययनले खानपानको समय कलेजोको प्रोटिन स्रावसँग प्रत्यक्ष रूपमा जोडिएको पुष्टि गरेको हो।
अनुसन्धान अनुसार कलेजोले बनाउने अधिकांश प्लाज्मा प्रोटिन २४ घण्टे सर्केडियन लय अनुसार स्राव हुन्छन । तर खानपान अनियमित हुँदा यो लय कमजोर हुन्छ वा हराउँछ।
मानिस र मुसामा गरिएको प्रयोगमा नियमित भोजन गर्ने अवस्थामा मात्रै रगतका प्रोटिनमा स्पष्ट दैनिक उतार चढाव देखिएको छ। दिनभर सानो सानो मात्रामा खाना खाने वा खानपानको ताल बिग्रिएको अवस्थामा यस्तो लय देखिएन।
कलेजोको आफ्नै ‘घडी’
अध्ययनले कलेजोले आफ्नै जैविक घडी अनुसार काम गर्ने देखाएको छ। कलेजो शरीरका लागि अत्यन्तै महत्त्वपूर्ण अंग हो, जसले रगतमा प्रवाह हुने अधिकांश प्रमुख प्रोटिन उत्पादन गर्छ।
अनुसन्धानकर्ताहरूका अनुसार कलेजोको यो २४ घण्टे घडी बिग्रँदा प्रोटिन स्राव प्रभावित हुन्छ, जसको सम्बन्ध मोटोपना जस्ता दीर्घकालीन स्वास्थ्य समस्या सँग देखिएको छ।
अष्ट्रेलियाको क्विन्सल्याण्ड विश्वविद्यालयकी अनुसन्धानकर्ता मेल्टेम वेगरका अनुसार, ‘यो अध्ययनले कलेजोले रगतमा प्रोटिन सधैं एउटै गतिमा छोड्छ भन्ने पुरानो धारणालाई चुनौती दिएको छ। कलेजोको मेटाबोलिक प्रक्रिया नै प्रोटिन स्रावको सर्केडियन नियन्त्रक हो भन्ने कुरा यसले स्पष्ट पारेको छ।’
ग्लाइकोजन र प्रोटिन स्राव
अध्ययनको अर्को महत्त्वपूर्ण पक्ष कलेजोको ग्लाइकोजन मेटाबोलिजम हो। कलेजोमा सङ्ग्रह भएको ग्लाइकोजन टुट्ने प्रक्रियाबाट प्राप्त पदार्थ प्रोटिनलाई सही रूपमा परिमार्जन (ग्लाइकोसिलेशन) गर्न आवश्यक हुन्छ। यही प्रक्रिया बिग्रँदा कलेजोमा तनाव बढ्ने र प्रोटिन स्राव घट्ने देखिएको छ।
सिफ्ट काम र अनियमित बानीको असर
अनुसन्धानकर्ताहरूले सिफ्टमा काम गर्ने र अनियमित खाने बानी भएका व्यक्तिमा कलेजोको सर्केडियन लय बढी प्रभावित हुन सक्ने चेतावनी दिएका छन । यसले कलेजोको कार्य मात्र होइन, समग्र मेटाबोलिक स्वास्थ्यमा असर पार्न सक्छ।
स्वास्थ्यका लागि अर्थ
अध्ययनले कलेजोको जैविक घडी, खानपानको समय र मोटोपना बीचको सम्बन्ध बुझ्न महत्वपूर्ण आधार दिएको अनुसन्धानकर्ताहरूको भनाइ छ। प्रोटिन स्रावमा देखिने लय कसरी मोलिक्युलर तहमा बन्छ र दैनिक दिनचर्याले यसलाई कसरी असर गर्छ भन्ने कुरा बुझाउने यो पहिलो अध्ययन मध्ये एक भएको उनीहरूको दाबी छ।
नियमित समयमै खाना खाने बानीले कलेजोको जैविक घडी सन्तुलित राख्न र दीर्घकालीन स्वास्थ्य जोखिम घटाउन सहयोग पुर्याउने वैज्ञानिक प्रमाण यस अध्ययनले थप बलियो बनाएको छ।

प्रतिक्रिया दिनुहोस