चिकित्सक संघ निर्वाचन: टिम बद्रीद्वारा ६ बुँदे प्रतिबद्धता सार्वजनिक


काठमाडौँ- नेपाल चिकित्सक संघको आगामी निर्वाचनका लागि टिम बद्री समूहले ६ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। समूहले एकता र विश्वासका आधारमा पेशागत मर्यादाको संरक्षण, समयानुकूल सुधार र सशक्त नेतृत्व मार्फत संघलाई नयाँ उचाइमा पुर्‍याउने दाबी गरेको छ।

१८ सदस्यीय टिम बद्रीले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतिबद्धता सार्वजनिक गरेको हो। प्रतिबद्धतामा चिकित्सकको दरबन्दी, पारिश्रमिक, सेवा सुविधा र सुरक्षा सुनिश्चित गर्दै नयाँ दरबन्दी र न्यायोचित तलबको व्यवस्था प्रमुख प्राथमिकतामा राखिएको छ।

सुरक्षाका विषयमा भय रहित सेवा प्रवाह, सुरक्षित कार्यस्थल र कानुनी संरक्षणलाई प्राथमिकता दिइने उल्लेख छ।चिकित्सकहरू माथि हुने भौतिक तथा मानसिक आक्रमण रोक्न स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐनको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने समूहले जनाएको छ।

चिकित्सकको जीवनमा आइपर्ने संकटका बेला सहयोगका लागि ‘र्यापिड रेस्पोन्स टिम’ गठन गर्ने प्रतिबद्धता पनि गरिएको छ। उक्त टिमले आवश्यकता अनुसार चिकित्सकको समस्या समाधान र सहयोग गर्ने बताइएको छ।

समूहले चिकित्सकको मानसिक स्वास्थ्यलाई उच्च प्राथमिकता दिँदै ड्युटी समयलाई वैज्ञानिक बनाउने, अतिरिक्त श्रमको उचित मूल्याङ्कन गर्ने र वेलनेस कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

यस्तै, शैक्षिक कार्यक्रम र अनुसन्धानलाई प्राथमिकता दिँदै ‘सबै चिकित्सक अट्ने, सबैलाई जोड्ने एनएमए’ नारालाई सार्थक बनाउन रणनीतिक उपाय अपनाइने प्रतिबद्धता व्यक्त गरिएको छ।

नेपाल चिकित्सक संघ ७५ वर्ष भन्दा लामो इतिहास बोकेको देशकै पुरानो पेशागत संगठन हो। संघका हाल १६ हजार १०० सदस्य छन्। संघको निर्वाचन २०८२ साल माघ २ र ३ गते काठमाडौँ उपत्यका बाहिर तथा माघ १५, १६ र १७ गते काठमाडौँ उपत्यका भित्र हुने तय भएको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!