आर्ट अफ लिभिङको ध्यान कार्यक्रममा ५० हजार सहभागी / ध्यान, योग र आत्मिक अभ्यासको भूमिका महत्वपूर्ण : स्वास्थ्य मन्त्री डा. सुधा शर्मा


काठमाडौं – आर्ट अफ लिभिङ नेपालले दोस्रो विश्व ध्यान दिवसका अवसरमा देशभर आयोजना गरेको ध्यान कार्यक्रम सम्पन्न भएको छ। डिसेम्बर २१ मा मनाइएको विश्व ध्यान दिवसका अवसरमा आयोजित एक साताको कार्यक्रम अन्तर्गत ५० हजार भन्दा बढीले ध्यान अभ्यासमा सहभागिता जनाएका छन्।

आर्ट अफ लिभिङ नेपालका अनुसार विद्यालय, कलेज, शैक्षिक संस्था, सरकारी तथा निजी कार्यालय, प्रहरी र नेपाली सेनाका इकाइ तथा सामुदायिक केन्द्रमा ध्यान सत्र सञ्चालन गरिएको थियो। साथै, एक हजार भन्दा बढी सहभागीले सात दिने निर्देशित ध्यान अभ्यास पूरा गरेका छन्। सबै सत्र प्रशिक्षित शिक्षक र स्वयंसेवकको सहयोगमा सञ्चालन गरिएको आयोजकले जनाएको छ।

काठमाडौंको शंखमूलस्थित आर्ट अफ लिभिङ केन्द्रमा आयोजना गरिएको कार्यक्रममा स्वास्थ्य मन्त्री डा. सुधा शर्मा ले आधुनिकताको दौडमा बदलिँदो जीवनशैली, तनाव, चिन्ता र डिप्रेसनका कारण मानसिक स्वास्थ्य समस्या बढ्दै गएको उल्लेख गर्दै त्यसको रोकथाम र व्यवस्थापनमा ध्यान, योग र आत्मिक अभ्यासको भूमिका महत्वपूर्ण रहेको बताइन्।

स्वास्थ्य मन्त्री डा. शर्माले मानसिक स्वास्थ्यलाई समग्र स्वास्थ्यको अभिन्न अंगका रूपमा बुझ्नु पर्नेमा जोड दिँदै सरकारले मानसिक स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न नीति तथा कार्यक्रम मार्फत प्राथमिकता दिँदै आएको बताइन्। समुदाय स्तर मै मानसिक स्वास्थ्य प्रवर्द्धनका कार्यक्रम अघि बढाउन सरकारी निकाय, गैर सरकारी संस्था र नागरिक समाज बीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

उनले समाजमा सकारात्मक सोच, आत्मअनुशासन र मानसिक सन्तुलन प्रवर्द्धनमा आर्ट अफ लिभिङ जस्ता संस्थाले पुर्‍याउँदै आएको योगदानको प्रशंसा पनि गरिन्।

कार्यक्रममा आर्ट अफ लिभिङ नेपालका अध्यक्ष शिद्धेश्वर कुमार सिंह र महासचिव प्रभुराज वैद्यले पूर्वीय दर्शन, ध्यान र योगको महत्व बारे धारणा राखेका थिए । कार्यक्रममा मानसिक स्वास्थ्य, ध्यान र योग अभ्यासलाई दैनिक जीवनमा अपनाउने विषयमा समेत छलफल गरिएको थियो।

संयुक्त राष्ट्रसंघले घोषणा गरेको विश्व ध्यान दिवस हरेक वर्ष डिसेम्बर २१ मा विश्वभर मनाइन्छ। ध्यानलाई आन्तरिक शान्ति, मानसिक सन्तुलन र सामाजिक सद्भाव प्रवर्द्धन गर्ने माध्यमका रूपमा चिनाउने उद्देश्य सहित यो दिवस मनाइँदै आएको छ। सन् २०२५ को कार्यक्रम विश्वव्यापी रूपमा मनाइएको दोस्रो संस्करण हो।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!