पारम्परिक चिकित्साका लागि विश्वकै ठूलो डिजिटल पुस्तकालय सुरु
नयाँ दिल्ली (ब्युरो) – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पारम्परिक, पूरक र एकीकृत चिकित्सा सम्बन्धी विश्व कै सबै भन्दा ठूलो डिजिटल पुस्तकालय सुरु गरेको छ। ‘ट्रेडिसनल मेडिसिन ग्लोबल लाइब्रेरी’ (टिजीएमएल) नाम दिइएको यो प्लेटफर्म बुधबार भारतको नयाँ दिल्लीमा सुरु भएको पारम्परिक चिकित्सा विषयक तीन दिने विश्व सम्मेलनका क्रममा सार्वजनिक गरिएको हो।
सम्मेलनमा डब्ल्यूएचओ ग्लोबल ट्रेडिसनल मेडिसिन सेन्टरकी निर्देशक डा. श्यामा कुरुविल्लाले पारम्परिक चिकित्सालाई प्रमाणमा आधारित ढंगले स्वास्थ्य प्रणाली सँग एकीकृत गर्नु पर्ने आवश्यकता औंल्याइन्। उनका अनुसार पारम्परिक चिकित्सा अहिले विश्वव्यापी प्राथमिकताका रूपमा स्थापित हुँदै गएको छ।
डब्ल्यूएचओका अनुसार हाल १७० भन्दा बढी सदस्य राष्ट्रमा कुनै न कुनै रूपमा पारम्परिक चिकित्सा प्रयोगमा छ। तर यो क्षेत्रले लामो समय सम्म वैज्ञानिक अनुसन्धान र स्वास्थ्य नीतिमा अपेक्षित स्थान पाउन सकेको थिएन। यही खाडल पुर्न टिजीएमएल सुरु गरिएको डब्ल्यूएचओको भनाइ छ। यसले आयुर्वेद, योग, पारम्परिक दाई प्रथा, लोक चिकित्सा तथा अन्य स्वदेशी चिकित्सा प्रणालीसँग सम्बन्धित ज्ञानलाई एकै स्थानमा सुरक्षित राख्दै सबैका लागि पहुँच योग्य बनाउने लक्ष्य राखेको छ।
डा. कुरुविल्लाका अनुसार यो पहल डब्ल्यूएचओको ‘ग्लोबल ट्रेडिसनल मेडिसिन स्ट्राटेजी २०२५–२०३४’ अनुरूप छ। यसको उद्देश्य पारम्परिक चिकित्सामा बलियो वैज्ञानिक प्रमाण विकास गर्नु, स्थानीय सन्दर्भ अनुसार अनुसन्धानलाई प्रवर्द्धन गर्नु र आदिवासी तथा स्वदेशी ज्ञान प्रणालीको सम्मान बढाउनु हो ।
डब्ल्यूएचओका एक वरिष्ठ अधिकारीले सन् २०२३ को अगस्टमा भारतको गान्धी नगरमा आयोजित जी-२० स्वास्थ्य मन्त्री स्तरीय बैठकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पारम्परिक चिकित्साका लागि विश्वव्यापी ज्ञान भण्डार निर्माण सबैको साझा प्रयास हुनुपर्ने बताएका थिए। सोही सन्देश अनुसार टिजीएमएल भारतमै सुरु गरिएको र यसले यस क्षेत्रमा भारतको बढ्दो भूमिकालाई पनि संकेत गर्ने अधिकारीको भनाइ छ।
भारतका नवप्रवर्तनलाई विश्व मञ्च
सम्मेलनका क्रममा भारतको स्वास्थ्य परम्पराले लगानीको अवसर पनि पाएको छ। भारत सरकारको आग्रहमा डब्ल्यूएचओले ‘हेल्थ हेरिटेज इनोभेसन’ (एच२आई) पहल अन्तर्गत पारम्परिक र एकीकृत चिकित्सासँग सम्बन्धित २१ उच्च प्रभाव भएका नवप्रवर्तनलाई विश्व मञ्चमा प्रस्तुत गरेको छ। ती मध्ये धेरै नवप्रवर्तन भारतसँग सम्बन्धित छन्। तिनलाई लगानीसँग जोड्ने र व्यापक रूपमा कार्यान्वयन गर्ने उद्देश्यले विशेष कार्यक्रम समेत आयोजना गरिएको छ।
१५ लाख भन्दा बढी अभिलेख
डब्ल्यूएचओका अनुसार टिजीएमएल मा हाल १५ लाख भन्दा बढी अभिलेख समावेश छन्। यसमा अनुसन्धान लेख, जर्नल, भिडियो, नीतिगत कागजात तथा विभिन्न मल्टिमिडिया सामग्री रहेका छन्। साथै छ वटा क्षेत्रीय पोर्टल र १९४ देशका छुट्टा छुट्टै पृष्ठ तयार गरिएका छन्। ती देश विशेष पृष्ठमा नियम कानुन, अनुसन्धान विश्लेषण, डाटाबेस र पोडकास्ट सामग्री उपलब्ध छन्।
आयुर्वेद, योग र पारम्परिक दाई प्रथामा विशेष जोड
पुस्तकालयमा आयुर्वेद, योग, पारम्परिक दाई प्रथा, इंटीग्रेटेड अन्कोलोजी र इंटीग्रेटेड पेडियाट्रिक्स जस्ता विषयमा विशेष पृष्ठ तयार गरिएको छ। पहिलो थीमेटिक पृष्ठ अमेरिकी महादेशमा प्रचलित पारम्परिक दाई प्रथा माथि केन्द्रित छ, जहाँ अफ्रिकी मूल र आदिवासी दाइहरूको अनुभव भिडियो र कागजात मार्फत समेटिएको छ।
डब्ल्यूएचओका अनुसार कम तथा मध्यम आय भएका देशका संस्थाले पारम्परिक चिकित्सा सम्बन्धी अनुसन्धान र साहित्य निःशुल्क वा न्यून लागतमा प्राप्त गर्न सक्नेछन्। साथै, पारम्परिक चिकित्सा सम्बन्धी अध्ययन विश्लेषणका लागि ‘ट्रेडिसनल मेडिसिन रिसर्च एनालिटिक्स प्लेटफर्म’ पनि विकास गरिएको छ।

प्रतिक्रिया दिनुहोस