चिकित्सक संघ अध्यक्षमा डा. बद्री रिजाल र डा. मङ्गल रावल बीच मुख्य प्रतिस्पर्धा
काठमाडौं – नेपाल चिकित्सक संघको आगामी निर्वाचनमा हाल सम्म सतहमा आएको चुनावी समीकरण अनुसार अध्यक्ष पदका लागि डा. बद्री रिजाल र डा. मंगल रावल बीच मुख्य प्रतिस्पर्धा हुने भएको छ।
चिकित्सक सङ्घको कार्यकारिणी समितिको लागि बुधबार उम्मेदवारी दर्ता सुरु भए पछि अध्यक्ष सहित अन्य पदका उम्मेदवार बारे चित्र थप स्पष्ट हुँदै जाने छ।
प्रजातन्त्रवादी चिकित्सक समूहको तर्फ बाट डा. बद्री रिजालको नेतृत्वमा चुनावी प्रतिस्पर्धामा जाने निश्चित भएको छ। यस अघि प्रगतिशील समूहबाट डा. मंगल रावलले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका छन्।
हाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष रहेका डा. रिजालले आफ्नो नेतृत्वमा निर्वाचनमा सहभागी हुने जानकारी नेपालहेल्थप्रेस लाई दिए। ‘आगामी निर्वाचनमा मेरो नेतृत्वमा हाम्रो टिम चुनावी मैदानमा उत्रिन्छ,’ उनले भने, ‘अहिले सम्म अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष पदका उम्मेदवार टुंगो लागेको छ। अन्य पदका लागि छलफल जारी छ।’
संघका वर्तमान महासचिव डा. सञ्जिव तिवारीले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने निश्चित भएको छ। यस्तै, यस अघि अध्यक्षमा उम्मेदवारी घोषणा गरि सकेका डा. विश्वराज दवाडीले महासचिवमा र डा. समित आचार्यले कोषाध्यक्षमा उम्मेदवारी दिने भएका छन्।
अध्यक्षका अर्का प्रत्याशी डा. मंगल रावलले आफूहरू कुनै दल विशेष नभई काम गर्ने व्यक्तिलाई छनोट गरी टिम बनाउने प्रयासमा रहेको दाबी गरे।
संघले प्रकाशित गरेको अन्तिम नामावली अनुसार नेपाल चिकित्सक संघमा १६ हजार १०० मतदाता छन । केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि उम्मेदवारहरूले बुधबार दिउँसो ३ बजे सम्म मनोनयन दर्ता गराउन सक्नेछन्।
निर्वाचन तालिका अनुसार उपत्यका भित्र मतदान माघ १५, १६ र १७ गते तथा उपत्यका बाहिर माघ २ र ३ गते हुनेछ।

प्रतिक्रिया दिनुहोस