शैक्षिक कन्सल्टेन्सीको व्यापारिक प्रचारमा डाक्टरको नाम फोटो राख्न रोक: मेडिकल काउन्सिलको निर्देशन
काठमाडौं – नेपाल मेडिकल काउन्सिलले डाक्टरलाई शैक्षिक कन्सल्टेन्सीका व्यापारिक प्रचार सामग्रीमा आफ्नो नाम, फोटो वा शैक्षिक योग्यता प्रयोग गर्न नपाइने स्पष्ट गर्दै सबै दर्तावाला चिकित्सकलाई यस्तो गतिविधि रोक्न आग्रह गरेको छ।
काउन्सिलका रजिस्ट्रार डा. सतिश देवका अनुसार केही चिकित्सकले एमबीबीएस, एमडी लगायतका कार्यक्रमका लागि विद्यार्थी पठाउने उद्देश्यले आफ्नो उपाधि र पहिचान कन्सल्टेन्सीको साइन बोर्ड, ब्रोसर, पम्प्लेट लगायत सामग्रीमा राखेर परामर्श सेवा दिएको भन्ने उजुरी काउन्सिलमा परेको छ।
काउन्सिलले यस्तो कार्य चिकित्सकको पेशागत आचार संहिता उल्लंघन हुने जनाएको छ। चिकित्सकको पेशागत आचार संहिता २०१७ को बुँदा ५(क) मा कुनै पनि चिकित्सकको नाम, परिचय वा डिग्री व्यापारिक सेवा वा वस्तुको प्रचारमा जोड्न नहुने प्रष्ट उल्लेख छ।
काउन्सिलले आचार संहिताको बुँदा ९ अनुसार नियम उल्लंघन गर्ने चिकित्सकमाथि कारबाही गर्न सकिने चेतावनी पनि दिएको छ।

प्रतिक्रिया दिनुहोस