तौल घटाउने औषधि ओजेम्पिक, मौन्जारो बारे चेतावनी जारी, भारतमा उच्च बिक्री; नेपालीले पनि प्रयोग गर्दै
यी औषधिले मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छन् र केही बिरामीमा आत्महत्या सम्बन्धी विचार देखा परेको छ
नयाँ दिल्ली (ब्युरो)– अष्ट्रेलियाली औषधि नियामक ‘थेराप्यूटिक गुड्स एडमिनिस्ट्रेशन (टिजीए) ले डायबिटिज नियन्त्रण र तौल घटाउन प्रयोग हुने ओजेम्पिक, मौन्जारो लगायतका जीएलपी–१ वर्गका औषधि बारे गम्भीर चेतावनी जारी गरेको छ। नियामकका अनुसार यी औषधिले मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छन् र केही बिरामीमा आत्महत्या सम्बन्धी विचार देखा परेको तथ्य आएका छन्।
जीएलपी–१ रिसेप्टर एगोनिस्ट भन्ने औषधि समूह मधुमेह (टाइप २) भएका मानिसका लागि उपयोगी हुन्छ। यसले शरीरमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ, तौल घटाउन सहयोग पुर्याउँछ, साथै मुटु र मिर्गौला सम्बन्धी समस्या हुने जोखिम कम गर्छ। यी औषधिले दीर्घकालीन स्वास्थ्यलाई जोगाउन मात्र होइन, समय भन्दा अगाडि मृत्यु हुने सम्भावना पनि घटाउन सक्छ, त्यसैले मधुमेह नियन्त्रण सँगै जीवनलाई सुरक्षित राख्न महत्वपूर्ण मानिन्छ।
टीजीएका अनुसार रगतमा चिनी नियन्त्रण गर्ने प्राकृतिक हार्मोनको नक्कलमा आधारित यी औषधिहरूले तौल घटाउने र डायबिटिज नियन्त्रणमा सहयोग गरे पनि मूड अचानक बदलिनु, गम्भीर मानसिक तनाव उत्पन्न हुनु जस्ता समस्याहरू देखिएको रिपोर्ट आएको छ। ओजेम्पिक, मौन्जारो, वेगोवी, सैक्सेन्डा, ट्रुलिसिटी जस्ता औषधिको प्रयोग विश्वका धेरै देशमा तीव्र रूपमा बढ्दै गएको छ।
अष्ट्रेलियाबाट आएको चेतावनी भारतका लागि पनि चिन्ताको विषय बनेको छ। भारतमा यी औषधिहरू खुलेआम बिक्री भइरहेको र अक्तोबर महिनामा मात्र यसको कारोबार करिब १०० करोड भारतीय रुपैयाँ पुगेको अनुमान छ।
औषधि पसल सञ्चालकहरूका अनुसार भारतमा बस्ने नेपाली र सीमा क्षेत्रका नेपाली मात्र नभई नेपालमै पनि यी औषधिको प्रयोग भइरहेको देखिन्छ।
मानसिक स्वास्थ्य जोखिमको सूचक
द गार्जियनको रिपोर्ट अनुसार अष्ट्रेलियाली नियामकले आफ्ना तथ्यांक विश्लेषण गर्दा सेप्टेम्बरसम्म ७२ बिरामीमा आत्महत्या सम्बन्धी विचार देखा परेको जनाएको छ। ती मध्ये ६ जनाले आत्महत्या गरेका, ४ जनाले प्रयास गरेका र २ जनाले आफूलाई चोट पुर्याएको घटना औषधिको सम्भावित असरका रूपमा उल्लेख गरिएको छ। विशेषज्ञहरूले यी औषधि ठूलो संख्यामा चिकित्सकले प्रिस्क्राइब गरिरहेकाले नियमित निगरानी अत्यावश्यक रहेको बताएका छन्।
टीजीएले यससम्बन्धी ठोस वैज्ञानिक प्रमाण नभए पनि जोखिमका संकेत देखिएकाले अत्यधिक सावधानी अपनाउन आग्रह गरेको छ।
डब्ल्यूएचओले पनि सचेत गरायो
विश्वभर करिब एक अर्ब भन्दा बढी मानिस मोटोपाबाट प्रभावित छन्। २०२४ मा मोटोपनाका कारण ३७ लाख भन्दा बढी मृत्यु हुने अनुमान समेत छ। यस चुनौतीका कारण विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जीएलपी–१ औषधिलाई महत्वपूर्ण उपलब्धि मानेको थियो। तर, डब्ल्यूएचओले जारी गरेका निर्देशनहरूमा गर्भवती महिलालाई यी औषधिबाट टाढा रहन र अत्यन्त सावधानीका साथ मात्र प्रयोग गर्न सुझाव दिएको छ।

प्रतिक्रिया दिनुहोस