बालबालिकालाई स्कुल भर्ना अघि आँखा जाँच अनिवार्य गर्न डा. सन्दुक रुइतको आग्रह


काठमाडौँ – तिलगंगा इन्स्टिच्युट अफ अफ्थाल्मोलोजीका कार्यकारी निर्देशक डा. सन्दुक रुइतले बालबालिकालाई स्कुलमा भर्ना गर्दा आँखा जाँचको प्रतिवेदन अनिवार्य गर्न आग्रह गरेका छन्।

काठमाडौँ जिल्लामा आँखा रोगको महामारी सम्बन्धी अध्ययनको नतिजा सार्वजनिक गर्ने कार्यक्रममा उनले अनिवार्य जाँचले दृष्टिदोष जस्तै रिफ्राक्टिभ इररलाई प्रारम्भिक चरणमै पत्ता लगाउन मद्दत गर्ने बताए।

उनले भने, ‘स्कुल भर्ना अघि अनिवार्य आँखा परीक्षण गरेमा बालबालिकामा देखिने दृष्टि समस्या छिट्टै पहिचान हुन्छ र समय मै उपचार गर्न सकिन्छ।’

दृष्टिदोषका कारण आँखाले प्रकाशलाई रेटिनामा सही रूपमा केन्द्रित गर्न नसक्दा देखाइ कमजोर हुन्छ, जसको असर बालबालिकाको पढाइ, ध्यान, व्यवहार र आत्मविश्वासमा समेत पर्न सक्छ।

उनले अनिवार्य आँखा जाँचले शैक्षिक उपलब्धि सुधार गर्न, पढाइमा देखिने कठिनाइ कम गर्न र समग्र बाल नेत्र स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताए।

डा. रुइतले देशभरका सरकारी वा निजी स्कुलमा भर्ना प्रक्रिया अघि आँखा जाँचको प्रतिवेदन अनिवार्य गरे मुलुकको समग्र नेत्र स्वास्थ्य क्षेत्रमा दीर्घकालीन सुधार हुने दाबी गरे।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!