अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस

नेपाल रेडियोलोजिस्टस एसोसिएसनको पहिलो फिटल इमेजिङ सम्मेलन सम्पन्न


काठमाडौं – नेपाल रेडियोलोजिस्टस एसोसिएसन ले शनिबार अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस को अवसरमा पहिलो ‘नेपाल फिटल समिट’ आयोजना गरेको छ।

कार्यक्रमको उद्घाटन गर्दै संघका अध्यक्ष डा. तेजेन्द्र कार्कीले आधुनिक चिकित्सामा रेडियोलोजीको बढ्दो भूमिका, जिम्मेवार इमेजिङ अभ्यास र विकिरण सुरक्षाको महत्त्व बारे चर्चा गरे ।डा. कार्कीले स्वास्थ्य सेवा प्रभावकारी बनाउन चिकित्सक र प्राविधिक बीचको सहकार्य अनिवार्य रहेको बताए।

यस वर्षको अन्तर्राष्ट्रिय विषय वस्तु ‘बिरामीहरूलाई सहयोग गर्ने रेडियोलोजिस्ट र रेडियोग्राफरहरू’  लाई उद्धृत गर्दै उनले रेडियोलोजीले बिरामी केन्द्रित स्वास्थ्य सेवामा नवप्रवर्तन र सटीक निदान मार्फत योगदान पुर्‍याइरहेको उल्लेख गरे।

फिटल इमेजिङ र प्रिनेटल निदान सम्बन्धी नवीनतम प्रविधि र अनुसन्धान बारे अन्तर्राष्ट्रिय विज्ञहरू डा. विवेक कश्यप, डा. रचित राममूर्ति र डा. विकाश कौशलले आफ्ना विचार राखेका थिए। उनीहरूको प्रस्तुतीले नेपाली रेडियोलोजिस्टहरूलाई फिटल मेडिसिन क्षेत्रमा शैक्षिक र व्यावसायिक उत्कृष्टता विस्तार गर्न सघाएको बताइएको छ।

कार्यक्रमको समापन सत्रमा संघका महासचिव डा. सरोजराज केसीले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबै प्राध्यापक, सहभागी र साझेदार संस्था हरुप्रति प्रती आभार व्यक्त गरे। उनले पोस्ट ग्रेजुएट रेडियोलोजी विद्यार्थीहरू बीच शैक्षिक उत्साह जगाउने रेडक्वेस्ट पहलको पनि प्रशंसा गरे।

इमेजिङ मास्टर क्लासेसको सहकार्यमा सम्पन्न उक्त कार्यक्रम को प्रमुख आकर्षण रेडक्वेस्ट क्विज प्रतियोगिता रह्यो, जसमा विभिन्न शिक्षण अस्पतालका युवा रेडियोलोजिस्टहरूले सहभागिता जनाए।

उक्त प्रतियोगितामा आईओएम का डा. भूपेन्द्र अधिकारी, डा. शिवाली राव, डा. आशिष भण्डारी प्रथम,  पाटन अस्पताल टोली अन्तर्गत डा. समृद्ध बस्न्यात, डा. शरद बराल, डा. राजेन्द्र न्यौपाने द्वितीय र  नाम्स टोलीका डा. ऐमिनाथ इस्माइल, डा. सिजना सिंह महार्जन, डा. जशपाल यादव तृतीय भएका थिए ।  विजेता टोलीले अब भारतमा आयोजना हुने अन्तर्राष्ट्रिय राडक्विज प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछ।

कार्यक्रमकै क्रममा ‘सिएनएस इमेजिङ्’ नामक पुस्तक विमोचन तथा फिटल मेडिसिन तालिम प्राप्त चिकित्सकहरूको दीक्षान्त समारोह पनि सम्पन्न भयो।

समिटमा सहभागीहरूले नवप्रवर्तन, सहकार्य र ज्ञान साझेदारी मार्फत रेडियोलोजी र फिटल मेडिसिनको विकासमा निरन्तर योगदान पुर्‍याउने प्रतिबद्धता जनाउँदै कार्यक्रम समापन गरेका थिए।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!