डा. सुधा शर्मा स्वास्थ्य मन्त्री नियुक्त, मन्त्रिपरिषद १० सदस्यीय, थपिए दुई नयाँ मन्त्री


काठमाडौँ – पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्मा स्वास्थ्य मन्त्री नियुक्त भएकी छन्। उनीसँगै युवा तथा खेलकुद मन्त्रीका रूपमा बब्लु गुप्ताले पनि आइतबार राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिए।

डा. शर्मा प्रसूति तथा स्त्री रोग विशेषज्ञ तथा जनस्वास्थ्य विज्ञ हुन्। उनले २०३९ सालमा जिल्ला अस्पतालबाट सेवा सुरु गरेकी थिइन् र २०६५ असोज देखि २०६८ मंसिर सम्म स्वास्थ्य मन्त्रालयकी सचिवका रूपमा काम गरेकी थिइन्।

रोयल कलेज अफ ओब्स्टेट्रिसियन एन्ड गायनेकोलोजिस्ट्स, बेलायतकी फेलो रहेकी डा. शर्माले जनस्वास्थ्यमा पनि स्नातकोत्तर गरेकी छिन्। उनले नेपाल चिकित्सक संघ, नेपाल सोसाइटी अफ ओब्स्टेट्रिसियन एन्ड गायनेकोलोजिस्ट्स र साउथ एसियन फेडेरेसन अफ ओब्स्टेट्रिक्स एन्ड गायनेकोलोजीको अध्यक्षको जिम्मेवारी सम्हालेकी थिइन्। उनी ‘सिंहदरबारको घुम्ने मेच’ नामक संस्मरणात्मक कृतिकी लेखिका पनि हुन्।

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार डा. शर्मा, गणपति लाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता सहित चार जनाको नाम शपथका लागि राष्ट्रपति समक्ष सिफारिस गरे पनि, पछि दुई जनाको नाम शपथ ग्रहण गराउने सूचीबाट हटाएकी थिइन्। राष्ट्रपति रामचन्द्र पौडेलले डा.शर्मा र गुप्तालाई मन्त्री नियुक्त गरेका हुन् ।

हाल मन्त्रिपरिषद् १० सदस्यीय बनेको छ। यस अन्तर्गत प्रधानमन्त्री सुशीला कार्की, रामेश्वर प्रसाद खनाल, कुलमान घिसिङ, ओमप्रकाश अर्याल, अनिल कुमार सिन्हा, महावीर पुन, मदनप्रसाद परियार र आइतबार थपिएका मन्त्रीहरूमा डा. सुधा शर्मा र बब्लु गुप्ता रहेका छन्।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!