स्वास्थ्य मन्त्रालयका १५ जना माथि भ्रष्टाचार मुद्दा

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका १५ जना विरुद्ध १४ करोड ६ लाख ८५ हजार ५ सय रुपैयाँ विगो माग दाबी सहित विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, मुद्दामा निवर्तमान अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्र, व्यवस्थापन महाशाखाका तत्कालीन निर्देशक डा. श्रवण कुमार थापा, आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र कुमार चौरसिया र डा. विवेक कुमार लाल मुख्य प्रतिवादी छन्।
त्यसै गरी तत्कालीन प्रमुख लेखा नियन्त्रक भुवन प्रसाद काफ्ले, कानुन अधिकृत सीता घिमिरे, वरिष्ठ जनस्वास्थ्य अधिकृत दीपक अधिकारी, शाखा अधिकृत यादव प्रसाद सापकोटा, लेखा अधिकृत शम्भु प्रसाद ढकाल, लेखापाल तिलक राम ढकाल, बायोमेडिकल इन्जिनियर आशिष चौहान, तत्कालीन बायोमेडिकल इन्जिनियर पद्मा मिश्र, केन्द्रीय स्टोर पथलैया का जनस्वास्थ्य निरीक्षक सन्जय कुमार साह र आपूर्ति कम्पनी म्याक्सिम इन्कर्पोरेसन ट्रेडर्स प्रालिका प्रमुख सुन्दर भुसाल लाइ पनि प्रतिवादी बनाइएको आयोगले जनाएको छ।
अख्तियारका अनुसार, उनीहरू सबैले स्वास्थ्य उपकरण खरिद प्रक्रियामा अनियमितता गरेको आरोप छ। प्रत्येक प्रतिवादी माथि जनही १४ करोड ६ लाख ८५ हजार ५ सय रुपैयाँको विगो कायम गरिएको छ।
प्रतिक्रिया दिनुहोस