कोल्ड्रिफ कफ सिरप : ०.१ % हुनुपर्नेमा मा ४८% घातक रसायन, लापरवाही नभई, ‘निर्मम रासायनिक हत्या’ सरहको अपराध, भारतको औषधि उद्योग फेरि विवादमा
यो त्यही रसायन हो जसको प्रयोग सवारी साधनका कूल्यान्ट र ब्रेक फ्लुइड मा गरिन्छ, र जसको केही थोपा पनि मानिसका लागि प्राणघातक हुन्छ। यदि यो सिरपका कारण मृत्यु पुष्टि भयो भने 'मानवहत्या सरहको अपराध' ठहरिनेछ।

नयाँ दिल्ली (ब्युरो) – भारतको औषधि उद्योग फेरि गम्भीर विवादमा परेको छ। उज्जैन स्थित श्रीसन फार्माले उत्पादन गरेको कोल्ड्रिफ खोकी सिरप मा गरिएको प्रयोगशाला परीक्षणमा डाइथिलिन ग्लाइकोल नामक घातक रसायनको मात्रा अनुमति योग्य सीमा (०.१ प्रतिशत) भन्दा करिब ४८.६ प्रतिशत भेटिएको छ। यो मात्रा करिब ४८० गुणा बढी हो।
यो त्यही रसायन हो जसको प्रयोग सवारी साधनका कूल्यान्ट र ब्रेक फ्लुइड मा गरिन्छ, र जसको केही थोपा पनि मानिसका लागि प्राण घातक हुन्छ। विज्ञहरूका अनुसार, यो केवल लापरवाही होइन, ‘निर्मम रासायनिक हत्या’ सरहको अपराध हो।
यस अघि गाम्बिया, उज्बेकिस्तान र भारतकै जम्मु कश्मीरमा पनि यस्तै किसिमका सिरपका कारण दर्जनौँ बालबालिकाको मृत्यु भएको थियो।
घातक रसायनको प्रयोग
एथिलिन ग्लाइकोल र डाइथिलिन ग्लाइकोल दुवै औद्योगिक रसायन हुन्। यी सामान्यतया पेन्ट, वार्निस, ब्रेक फ्लुइड, रेजिन तथा कूल्यान्ट बनाउन प्रयोग हुन्छन्। औषधि उत्पादनमा तिनको प्रयोग कडाईका साथ प्रतिबन्धित छ।
तर भारतमा केही निर्माताहरूले ग्लिसरीन वा प्रोपिलिन ग्लाइकोलको सस्तो विकल्पका रूपमा यी रसायन प्रयोग गरेका घटना सार्वजनिक भएका छन्, जसका कारण धेरै बालबालिकाको ज्यान गएको छ। यी रसायनको स्वाद हल्का मीठो हुने भएकाले सिरपमा मिसिँदा सामान्य परीक्षणबाट पत्ता लगाउन गाह्रो हुन्छ।
शरीरमा प्रवेश गरेपछि यी पदार्थ अक्सालिक एसिड र २-हाइड्रोक्सीइथोक्सीएसेटिक एसिड जस्ता विषालु यौगिकमा रूपान्तरण हुन्छन्, जसले मृगौला, कलेजो र स्नायु प्रणालीलाई गम्भीर क्षति पुर्याउँछ।
उत्पादनमै मिलावट पुष्टि
सरकारी स्रोतका अनुसार, केन्द्रिय औषधि मानक नियन्त्रण संगठन को प्रारम्भिक अनुसन्धानले रसायनको मिलावट उत्पादन प्रक्रियामै भएको पुष्टि गरेको छ। ग्लिसरीन ब्याचको ट्रेसिङ, सॉल्भेन्ट स्रोत र प्रोसेसिङ प्रमाणपत्रमा गम्भीर अनियमितता भेटिएको बताइएको छ। फार्मा क्षेत्रका विज्ञहरूका अनुसार, यदि यो सिरपका कारण मृत्यु पुष्टि भयो भने यो ‘मानवहत्या सरहको अपराध’ ठहरिनेछ।
विषाक्त असर
शरीरमा पुगेपछि डाइथिलिन ग्लाइकोल र एथिलिन ग्लाइकोल कलेजोमा पुगेर अल्कोहल डिहाइड्रोजिनेज नामक इन्जाइमद्वारा विषाक्त पदार्थमा परिणत हुन्छन्। यी यौगिकहरूले मृगौलाका नलीहरू बन्द गर्छन् जसका कारण एक्यूट किड्नी फेल्योर हुन्छ। पहिलो लक्षणमा हल्का नशा जस्तो महसुस हुन्छ, त्यसपछि वाकवाकी, बेहोसपन, सास फेर्न गाह्रो हुने, र अन्ततः किड्नी फेल भई मृत्यु हुन सक्छ।
प्रतिक्रिया दिनुहोस