भारतमा बालबालिकाको मृत्युपछि नेपालमा कोल्ड्रिफ कफ सिरप प्रयोग नगर्न औषधि व्यवस्था विभागको चेतावनी


काठमाडौँ – भारतका विभिन्न राज्यहरूमा कोल्ड्रिफ कफ सिरप सेवनपछि बालबालिकाको मृत्यु भएको घटना पछि नेपाल सरकारले उक्त औषधिको प्रयोगप्रति चेतावनी जारी गरेको छ।

औषधि व्यवस्था विभागले मङ्गलबार सार्वजनिक सूचना जारी गर्दै भारतको स्रेसन फार्मा कम्पनीद्वारा उत्पादित Coldrif Cough Syrup नेपालमा दर्ता नभएको स्पष्ट गरेको छ। विभागले सबैलाई यो औषधि नेपालमा उपलब्ध गराउन वा प्रयोग नगर्न आग्रह गरेको छ।

विभागका अनुसार यसअघि पनि यस्तै प्रकृतिका घटनाहरू भइसकेका कारण विभागले झोल बनावटका औषधिहरूमा प्रयोग हुने प्रोपाइलिन ग्लाइकोल, पोलिइथिलिन ग्लाइकोल, सोर्बिटोल, ग्लिसरॉल/ग्लिसरिन जस्ता कच्चा पदार्थमा इथिलीन ग्लाइकोल र डाइथिलिन ग्लाइकोल को मिसावट नभएको सुनिश्चित गर्न गुणस्तर परीक्षण अनिवार्य गरेको थियो।

हालै, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को कार्यपत्र अनुसार, विभागले झोल बनावटका औषधिहरूमा यी घातक रासायनिक पदार्थहरूको मात्रा परीक्षण गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ। विभागले सबै पक्षलाई बालबालिकाको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागले सबै औषधि उत्पादक, आयातकर्ता, फार्मेसी, चिकित्सक र आम सर्वसाधारणलाई निम्न निर्देशनहरू पालना गर्न आग्रह गरेको छ ।

  • उत्पादकहरूले आधिकारिक आपूर्तिकर्ताबाट मात्र कच्चा पदार्थ खरिद गरी, आवश्यक परीक्षण गरेपछि मात्रै औषधि उत्पादन र वितरण गर्न ।
  • आयातकर्ताहरूले प्रत्येक व्याचको परीक्षण गरी इथिलीन ग्लाइकोल वा डाइथिलिन ग्लाइकोल  मिसावट नभएको सुनिश्चित गरेपछि मात्रै औषधि आयात र बिक्री गर्न।
  • फार्मेसीहरूले विभागमा दर्ता भएका औषधिहरू मात्र बिक्री वितरण गर्न।
  • चिकित्सकहरूले विभागमा दर्ता भएका औषधि मात्र सिफारिस गर्न र दुई वर्ष वा सो भन्दा कम उमेरका बालबालिकालाई खोकीको औषधि वैज्ञानिक प्रमाणका आधारमा मात्र सिफारिस गर्न।
  • सर्वसाधारणले चिकित्सकको सल्लाह बिना औषधि प्रयोग नगर्न, विभागमा दर्ता भएका औषधि मात्र प्रयोग गर्न र औषधिको लेबलमा उल्लेखित निर्देशन पालना गर्न।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!