डब्लुएचओको प्रतिवेदन : पाँच जनामध्ये एक वयस्क अझै पनि सुर्तीको लतमा


काठमाडौँ- विश्वभर सुर्ती सेवन घट्दै गएको भए पनि सुर्तीजन्य महामारी अन्त्य हुन अझ धेरै समय लाग्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ।

हालै सार्वजनिक गरिएको ‘डब्लुएचओ टोब्याकको ट्रेन्डस रिपोर्ट’  अनुसार सन् २००० मा १.३८ अर्ब सुर्ती सेवनकर्ता रहेका मध्ये सन् २०२४ मा यो संख्या घटेर १.२ अर्बमा झरेको छ। सन् २०१० पछि सुर्ती प्रयोग गर्नेको संख्या १२ करोडले घटेको छ, जसले करिब २७ प्रतिशतको कमी देखाउँछ।

तर, अझै पनि विश्वका पाँच मध्ये एक जना वयस्क सुर्ती वा निकोटिन जन्य पदार्थमा निर्भर छन् ।

डब्लुएचओ का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससका अनुसार, ‘सुर्ती नियन्त्रणका विश्वव्यापी प्रयासका कारण करोडौं मानिसले सुर्ती त्यागेका छन् वा सुरु नै गरेका छैनन्। तर सुर्ती उद्योगले नयाँ निकोटिन उत्पादनहरू ल्याएर युवा पुस्तालाई लक्ष्य गर्दै पुनः बजार कब्जा गर्ने प्रयास गरिरहेको छ। सरकारहरूले थप कडा र छिटो कदम चाल्न जरुरी छ।’

ईसिगरेट प्रयोगमा तीव्र वृद्धि

डब्लुएचओ ले पहिलो पटक विश्वव्यापी रूपमा ईसिगरेट प्रयोगको अनुमान सार्वजनिक गरेको छ, जसले चिन्ताजनक स्थिति देखाएको छ। हाल विश्वभर १० करोडभन्दा बढी मानिसले भ्यापिङ गरिरहेका छन्।

वयस्क: करिब ८ करोड ६० लाख, प्रायः धनी मुलुकहरूमा।

किशोर (१३–१५ वर्ष): कम्तीमा १.५ करोड

बच्चाहरू ई-सिगरेट प्रयोग गरिरहेका छन्। उपलब्ध तथ्यांक भएका देशहरूमा किशोरहरू वयस्कभन्दा औसत नौ गुणा बढी भ्यापिङ गर्छन्।

डब्लुएचओ का स्वास्थ्य प्रवर्द्धन तथा रोकथाम विभागका निर्देशक इटियेन क्रगले भने, ‘ईसिगरेटले नयाँ निकोटिन लतको लहर ल्याएको छ। यसलाई ‘हानि कम गर्ने’ उपायका रूपमा प्रचार गरिन्छ, तर वास्तवमा यसले बालबालिकालाई अझ सानो उमेरमै निकोटिनमा फसाइरहेको छ र दशकौंको प्रगतिलाई कमजोर पार्ने खतरा बढाएको छ।’

महिलामा सुधार, पुरुष अझै पछि

सन् २००० देखि २०२४ सम्म सबै उमेर समूहमा सुर्ती सेवन घटेको छ, तर महिलाले यो लत छोड्ने दरमा पुरुषलाई पछाडि पारेका छन्। महिलाको सुर्ती सेवन २०१० को ११ प्रतिशतबाट घटेर २०२४ मा ६.६ प्रतिशतमा पुगेको छ। संख्या अनुसार २०१० मा २७.७ करोड महिलाले सुर्ती सेवन गर्थे भने २०२४ मा यो घटेर २०.६ करोडमा झर्‍यो।

तर पुरुषतर्फ प्रगति ढिलो छ। हाल विश्वका सुर्ती सेवनकर्ता मध्ये ८० प्रतिशत भन्दा बढी पुरुष छन्। पुरुषमा सुर्ती सेवनको दर २०१० मा ४१.४ प्रतिशतबाट घटेर २०२४ मा ३२.५ प्रतिशतमा पुगेको भए पनि, सन् २०३१ सम्म मात्र लक्षित दरमा पुग्ने अनुमान गरिएको छ।

डब्लुएचओको आग्रह

डब्लुएचओ ले सबै देशहरूलाई सुर्ती नियन्त्रणका लागि थप कडा नीति लागू गर्न आग्रह गरेको छ। यसमा एमपावर  प्याकेज र डब्लुएचओ फ्रेम वर्क कन्भेन्सन अन टोब्याको कन्ट्रोल  को पूर्ण कार्यान्वयन, बालबालिकालाई लक्षित गर्ने विज्ञापन र नयाँ निकोटिन उत्पादनहरूमा प्रतिबन्ध, सुर्ती कर वृद्धि, विज्ञापन निषेध, र निस्कने सेवाको विस्तार, समावेश छन्।

डब्लुएचओ का सहायक महानिर्देशक जेरेमी फरारका शब्दमा, ‘अझै करिब २० प्रतिशत वयस्क सुर्ती वा निकोटिनजन्य वस्तु प्रयोग गर्छन्। हामीले अहिले रोक्ने अवसर गुमाउन सक्दैनौं। विश्वले प्रगति गरेको छ, तर यो महामारीलाई अन्त्य गर्न थप बलियो र छिटो कदम आवश्यक छ।’

क्षेत्रीय स्थिति

  • दक्षिण–पूर्व एशिया: पुरुषमा सुर्ती सेवन दर २००० को ७० प्रतिशतबाट २०२४ मा ३७ प्रतिशतमा घटेको छ।
  • अफ्रिका: हाल सबैभन्दा कम दर (९.५%) छ, तर जनसंख्या वृद्धि कारण कुल संख्या बढ्दो छ।
  • अमेरिका महादेश: सुर्ती सेवन ३६ प्रतिशतले घटेर २०२४ मा १४ प्रतिशतमा पुगेको छ।
  • युरोप: हाल विश्वकै उच्च दर रहेको क्षेत्र (२४.१%), महिलामा पनि उच्चतम (१७.४%)।
  • पूर्वी भूमध्यसागर: १८ प्रतिशतको दर, केही देशमा अझै वृद्धि भइरहेको।
  • पश्चिमी प्रशान्त क्षेत्र: सुस्ती प्रगति, वयस्कमा २२.९% सेवन दर; पुरुषमा सबैभन्दा बढी ४३.३%।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!