नेपालमा पहिलो पटक सोसाइटी फर कार्डियोभास्कुलर एन्जियोग्राफी एण्ड इन्टरभेन्सनको गोष्ठी सम्पन्न

काठमाडौँ – राजधानीमा सहिद गङ्गालाल नेसनल हर्ट सेन्टर इन्टरनेसनल इन्टरभेन्सन सिम्पोजियम सम्पन्न भएको छ । सोसाइटी फर कार्डियोभास्कुलर एन्जियोग्राफी एण्ड इन्टरभेन्सन (एससीएआइ) द्वारा आयोजित यो गोष्ठीमा अमेरिका, भारत, बंगलादेश लगायतका मुलुकका ख्याति प्राप्त विशेषज्ञहरूले सहभागिता जनाएका थिए ।
यस अन्तर्गत अमेरिकाबाट प्रा. चौधरी ए. अहसान, प्रा. रमेश दग्गुबती, प्रा. तिमिर कुमार पाल, भारतबाट प्रा. ऋषि सेठी, बंगलादेशबाट डा. कैसर नसिरुल्लाह खान उपस्थित थिए। विश्व प्रसिद्ध कार्डियोलोजिस्ट प्रा. एन्टोनिया कोलोम्बोले गोष्ठीमा भर्चुअल माध्यमबाट आफ्नो विचार प्रस्तुत गरेका थिए।
यस अघि यो कार्यक्रम एससीएआइ बंगलादेशको नाममा हुँदै आएकोमा, पहिलो पटक नेपालमा आयोजना हुनु विशेष सम्मान र गौरवको विषय रहेको आयोजकहरूले बताएका छन्। सिम्पोजियम सफलतापूर्वक सम्पन्न भएको र यसले नेपाली स्वास्थ्य क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसर दिएको समेत आयोजकले उल्लेख गरेको छ।
सन् १९७८ मा स्थापित एससीएआइ विश्वकै अग्रणी गैरनाफामुखी संस्था हो, जसले इनभेसिभ र इन्टरभेन्सनल कार्डियोलोजीको क्षेत्रमा शिक्षा, अनुसन्धान, वकालत र गुणस्तरीय उपचारलाई प्रोत्साहन गर्दै आएको छ।
हालसम्म ४,५०० भन्दा बढी सदस्य सहित यस संस्थाले ४ दशक भन्दा बढी समय देखि वयस्क तथा बालबालिकामा हृदयसम्बन्धी उपचार र अनुसन्धानलाई अघि बढाउँदै आएको छ।
नेपालतर्फ बाट कार्यक्रमको संयोजन शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका वरिष्ठ कार्डियोलोजिस्ट प्रा. अरुण मास्के र कार्यकारी निर्देशक डा. रवि मल्ल ले गरेका थिए।
प्रतिक्रिया दिनुहोस