डा.अनिल विक्रम कार्की, एसिया र ओशिनिया क्षेत्रका चिकित्सक हरूको परिसंघका अध्यक्ष निर्वाचित

काठमाडौं – नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल विक्रम कार्की कन्फेडेरेसन अफ मेडिकल एसोसिएसन अफ एसिया एण्ड ओशिनिया (सिएमएएओ) को ४२औं अध्यक्षमा निर्वाचित भएका छन्।
एसिया र ओशिनियाको मेडिकल एसोसिएसनको कन्फेडेरेसन को परिषद्को बैठक भर्चुअल माध्यम (जुम) मार्फत २० वटा देशका प्रतिनिधिहरूको सहभागिता मा बुधबार सम्पन्न भएको छ । यही बैठकले डा.कार्कीलाई एसिया र ओसिनिया का मेडिकल एसोसिएसनहरूका परिसंघ को ४२ औं अध्यक्ष निर्वाचित गरेकाे हो।
प्रारम्भिक योजना अनुसार बैठक काठमाडौंमा भौतिक रूपमा हुने तय गरिएको भए पनि नेपालको वर्तमान परिस्थितिका कारण यस पटक जुम बाट बैठक सम्पन्न गरिएको हो। भौतिक कार्यक्रमलाई हालका लागि स्थगित गरिएको जानकारी दिइएको छ।
बैठकमा सहभागी विभिन्न देशका प्रतिनिधिहरूले नेपालको वर्तमान अवस्था प्रति चिन्ता व्यक्त गर्दै नेपाल चिकित्सक संघसँग ऐक्यबद्धता जनाएका थिए। साथै, आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिक प्रति गहिरो श्रद्धाञ्जली अर्पण गरिएको थियो।
प्रतिनिधिहरूले नेपाल कठिन परिस्थिति पार गर्दै चाँडै समृद्धि तर्फ अघि बढ्ने विश्वास व्यक्त गरेका छन्। साथै, निकट भविष्यमा नेपालमा हुने भौतिक बैठकमा सहभागी हुन उत्सुक रहेको धारणा राखेका छन्।
प्रतिक्रिया दिनुहोस