अनुसन्धान
फ्याटी लिभर रोग रोकथाममा नयाँ औषधिबाट आशा

फ्याटी लिभर रोगको रोकथाम र उपचारका लागि नयाँ औषधि पत्ता लागेको छ, जसले यो गम्भीर रोग नियन्त्रणमा मद्दत गर्न सक्छ ।अनुसन्धानकर्ताहरूका अनुसार यो औषधि मेटाबोलिक डिसफंक्शन-असोसिएटेड स्टियाटोहपेटाइटिस (एमएएसएच) को उपचारमा प्रभावकारी देखिएको छ।
एमएएसएच फ्याटी लिभर रोगको गम्भीर रूप हो, जुन मोटोपना र टाइप २ मधुमेहसँग सम्बन्धित हुन्छ। यसका कारण कलेजो फेल हुन सक्ने र कलेजोको क्यान्सरको जोखिम समेत रहने गर्दछ।
अमेरिकाको क्यालिफोर्निया युनिभर्सिटी, स्यान डिएगो स्कूल अफ मेडिसिन का वैज्ञानिकहरूले यो नयाँ औषधि पत्ता लगाएका हुन्। अहिले यो औषधि परीक्षण को चरणमा छ। अनुसन्धानको विवरण ल्यान्सेट पत्रिकाको अनलाइन संस्करणमा प्रकाशित गरिएको छ।
अध्ययन अनुसार आइओएन २२४ नामको यो औषधिले डिजीएटी २ नामक लिभर इन्जाइमलाई लक्षित गर्छ। यो इन्जाइमले लिभरमा बोसो उत्पादन र जम्नमा महत्त्वपूर्ण भूमिका खेल्छ। औषधिले यस इन्जाइमलाई रोक्दै लिभरमा बोसो जम्ने र सुन्याई हुने प्रक्रिया कम गर्छ।
स्यान डिएगो स्कूल अफ मेडिसिनका ग्यास्ट्रोएन्टेरोलोजी र हेपाटोलोजी विभागका प्रमुख रोहित लुम्बाले भने, “यो अध्ययन एमएएसएच बिरुद्धको उपचारमा ठूलो प्रगति हो। डिजीएटी २ लाई रोक्दै हामी रोगको प्रक्रियालाई नियन्त्रण गर्न सक्षम भएका छौँ।’
यो औषधिको क्लिनिकल परीक्षण १६० वयस्कहरूमा भइ रहेको छ। एक वर्षसम्म उनीहरूलाई मासिक आधारमा विभिन्न मात्रा (डोज) मा इन्जेक्सन दिइएको थियो। प्रारम्भिक नतिजामा यो औषधिले कलेजोमा उल्लेखनीय सकारात्मक प्रभाव देखाएको अनुसन्धानले जनाएको छ।
प्रतिक्रिया दिनुहोस