देशभर निषेधाज्ञा आज बेलुकी ५ बजेसम्म, बिहीबार बिहान ६ बजेसम्म कर्फ्यू लागू: नेपाली सेनाको अपिल

काठमाडौँ – मुलुकमा जारी अस्थिर अवस्थालाई मध्य नजर गर्दै नेपाली सेनाले निषेधाज्ञा र कर्फ्यू आदेशको कडाइका साथ पालना गर्न सबै नागरिक लाई अनुरोध गरेको छ। सेनाले आन्दोलनको नाममा अराजक गतिविधि बढि रहेको भन्दै जनधनको सुरक्षा र शान्ति सुरक्षाका लागि तत्कालिक उपायका रूपमा यो कदम चालेको जनाएको छ।
सेनाले सार्वजनिक गरेको सूचना अनुसार, हाल जारी निषेधाज्ञा भाद्र २५ गते बेलुकी ५ बजे सम्म निरन्तर लागू रहनेछ। सो समय पछि भाद्र २६ गते बिहान ६ बजे सम्म कर्फ्यू आदेश देश भर लागु हुनेछ। परिस्थितिको मूल्यांकन अनुसार थप जानकारी दिइने पनि सेनाले स्पष्ट पारेको छ।
सेनाले चेतावनी दिँदै आन्दोलनको नाममा व्यक्तिगत र सार्वजनिक सम्पत्ति तोडफोड, आगजनी, लुटपाट, हिंसात्मक आक्रमण तथा यौन हिंसा जस्ता अपराध भइ रहेको र अझै बढ्न सक्ने सम्भावना भएकाले यस्ता गतिविधि दण्डनीय अपराध मानिने र सुरक्षाकर्मीले कडा कारबाही गर्ने जनाएको छ।
कर्फ्यू अवधिमा एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी साधन सञ्चालन गर्न सकिने व्यवस्था मिलाइएको छ। अत्यावश्यक अवस्थामा नजिकैका सुरक्षाकर्मी हरुसँग समन्वय गर्न पनि सेनाले अनुरोध गरेको छ।
सेनाले सम्पूर्ण नागरिक, सञ्चारकर्मी, राष्ट्रसेवक र अवकाश प्राप्त सैनिकलाई अफवाहमा नलागी आधिकारिक जानकारीलाई मात्र आधार बनाउन आग्रह गरेको छ।
राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्दै जनजीवनलाई सामान्य बनाइराख्न सबैको जिम्मेवारी रहेको उल्लेख गर्दै सेनाले सुरक्षाकर्मी लाई सहयोग गर्न अपिल गरेको छ। नेपाली सेनाले अन्तिममा जसरी पनि नेपाली जनताको सुरक्षा, उद्धार र शान्ति व्यवस्थाको दायित्वमा आफू प्रतिबद्ध रहने स्पष्ट पारेको छ।
प्रतिक्रिया दिनुहोस