राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा एकै व्यक्तिमा तेस्रो पटक मृगौला प्रत्यारोपण सफल

सुदूरपश्चिम प्रदेशका पूर्व मन्त्री लक्ष्मण किशोर चौधरी को पछिल्लो तेस्रो मात्र होइन दोस्रो प्रत्यारोपण समेत डा. पुकारचन्द श्रेष्ठकै नेतृत्वमा भएको हो।


भक्तपुर – शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले एकै व्यक्तिमा तेस्रो पटक पनि सफलतापूर्वक मृगौला प्रत्यारोपण गरी उल्लेखनीय उपलब्धि हासिल गरेको छ।

सुदूरपश्चिम प्रदेशका पूर्व मन्त्री लक्ष्मण किशोर चौधरीको भाद्र ९ गते तेस्रो पटक मृगौला प्रत्यारोपण सम्पन्न भएको हो। करिब १२ दिन अघि गरिएको सो शल्यक्रिया सफल भएको केन्द्रले जनाएको छ।

सामान्यतया एक पटकको प्रत्यारोपणले लामो समय सम्म काम गर्ने भए पनि इम्युनोलोजिकल अस्वीकार, संक्रमण वा क्रोनिक अलोग्राफ्ट नेफ्रोप्याथी जस्ता कारणले असफल हुने सम्भावना रहन्छ। यस्तो अवस्थामा दोस्रो प्रत्यारोपण गरिन्छ। तर तेस्रो प्रत्यारोपण भने विश्वमै दुर्लभ हुने, प्राविधिक कठिनाइ, औषधीय चुनौती र उपयुक्त दाता पाउन गाह्रो हुने भएकाले जोखिम पूर्ण मानिने केन्द्रले जनाएको छ।

डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा सम्पन्न यस प्रत्यारोपण ले नेपालमा अंग प्रत्यारोपण सेवा विश्व स्तरीय क्षमतामा पुगेको देखाएको छ ।  डा. श्रेष्ठले यस अघि बेलायतमा पनि यस्तै जोखिम पूर्ण प्रत्यारोपण गरेको अनुभव रहेको जानकारी दिए ।

पूर्व मन्त्री चौधरीले मृगौला प्रत्यारोपणकै लागि आफ्नो मन्त्री पद त्याग गरेका थिए। उनको पहिलो मृगौला प्रत्यारोपण भारतमा भएको थियो ।  २०७२ सालमा दोस्रो र हालै केन्द्रमा गरिएको तेस्रो प्रत्यारोपण गरी पछिल्लो दुवै प्रत्यारोपण डा. पुकारकै नेतृत्वमा भएको हो। नेपाल मै डा.पुकार कै नेतृत्वमा गरिएको दोस्रो मृगौला प्रत्यारोपण झण्डै एक दशक चलेको थियो। तेस्रो प्रत्यारोपण ‘पेयर एक्सचेन्ज’ प्रणाली अन्तर्गत गैर नातेदार बीच अंग साटासाट गरेर गरिएको हो।

नेपालमा दोस्रो पटक मृगौला प्रत्यारोपण सन् २०१० मा वीर अस्पतालमा पनि डा. पुकारकै नेतृत्वमा सुरु भएको थियो। तर तेस्रो प्रत्यारोपण भने पहिलो पटक सफल भएको यस उपलब्धिले नेपालमा प्रत्यारोपण सेवाको स्तर उच्च भएको देखाएको छ।

स्थापना भएको तेह्र वर्षमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले अहिलेसम्म १५०२ सफल मृगौला प्रत्यारोपण र ३५ कलेजो प्रत्यारोपण सम्पन्न गरिसकेको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!