बीरगञ्जमा झाडापखालाले २ को मृत्यु, ८० जना एचडीयु/आईसीयुमा, बिरामीको मृगौलामा समेत असर, हैजाको आशंका

काठमाडौँ – बीरगञ्ज र आसपासका इलाकामा देखिएको झाडापखालाले १९ र २९ वर्षका दुई जना व्यक्तिको मृत्यु हुनुको साथै ८० जना बिरामी हाइ डेफिनेसन युनिट र आइसियुमा उपचाररत छन् । पखालाका केही बिरामीहरूको मृगौलामा समेत असर देखिएको छ भने र्यापिड डायग्नोस्टिक टेस्टबाट परीक्षण गर्दा ३६ जनामा हैजा पोजेटिभ देखिएको छ । हाल नारायणी अस्पताल मा झाडा पखालाको बिरामीले बेडहरू भरिए पछि भुइँमै उपचार गर्नु परेको छ ।
अनियन्त्रित रूपमा चौलानी जस्तो पातलो दिशा हुने रोगलाई बोलचालको भाषामा झाडापखाला (डायरिया) भनिन्छ । यस्ता रोगीको पखाला मा ‘ब्याक्टेरियम भिब्रियो कलेरी’ जीवाणु देखियो अर्थात् पखाला उक्त जीवाणुको संक्रमणले गर्दा भएको हो भने त्यो हैजा हो।
हैजा भिब्रियो कोलेरी ब्याक्टेरियाले दूषित खाना वा पानी सेवन गर्दा हुने तीव्र झाडा पखालाको संक्रमण हो। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को अनुसार विश्व भर प्रत्येक वर्ष हैजाबाट १३ लाख देखि ४० लाख बिरामीहरू प्रभावित हुन्छन् भने २१ हजार देखि १ लाख ४३ हजार व्यक्ति सम्म को मृत्यु हुन्छ ।
इपिडमियोलोजी तथा रोग नियन्त्रण महाशाखा का निर्देशक डा.चन्द्रभाल झा का अनुसार बीरगञ्ज र आसपासका क्षेत्रमा जम्मा १२९ वटा झाडापखाला को केस देखिएको छ भने ३६ जनाको नमुना लाई र्यापिड डायग्नोस्टिक टेष्ट गर्दा हैजा देखिएको हो।
हाल सरकारी अस्पतालमा झाडापखालाको बिरामीहरूलाई निःशुल्क उपचार गरि राखिएको जनाउँदै डा.झाले बीरगञ्जमा फैलिएको झाडा पखाला हैजा हो या होइन यो दिसा रिपोर्टको प्रतिवेदन आए पछि मात्र भन्न सकिने बताउँछन्।
नारायणी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. निरज सिंहले नेपालहेल्थप्रेससँग कुरा गर्दै भने -‘गत शुक्रबार देखि एक्कासी झाडा पखाला प्रभावितको सङ्ख्या अत्यधिक बढेको देखियो। त्यस अघि पनि झाडा पखालाका समस्या लिएर आइरहेका हरुलाई हामीले निको बनाएर पठाइरहेका थियौँ। तर कुनै रोग न भएका १९ र २९ वर्षका युवाहरूको मृत्युले थप ससंकित बनाएको छ।’
बीरगञ्जको श्रीपुर, मुरली, गण्डक क्षेत्रबाट सबै भन्दा बढी झाडा पखालाको केस देखिएको जनाउँदै डा. सिंहले छिटफुट रूपमा पर्सा जिल्लाको बिध्यवासिनी, पक्का मैनपुर र बारा जिल्लाको परवानीपुर, चैनपुर आदि गाउँबाट समेत केस आइरहेको बताए।
हाल वीरगञ्जमा झाडा पखालाका रोगीहरूमा देखिएको मुख्य लक्षण चौलानी जस्तै अनियन्त्रित पखाला देखिएको हो। डा. सिंहको अनुसार पखाला यति अनियन्त्रित छ कि बिरामीहरूलाई डाइपर लगाउनु पर्ने स्थिति आएको छ। यो पखाला बच्चाहरूमा त्यति खासै नदेखिए पनि वृद्ध र युवा गरी वयस्कहरुमा सबै भन्दा बढी देखिएको छ ।
चिकित्सकहरूका अनुसार वीरगञ्जमा पछिल्लो डेढ दशक देखि हैजा को प्रकोप देखिएको छैन। डा.सिंहका अनुसार बिरामीको चिकित्सा इतिहासले उनीहरूले उपयोग गर्ने पानी संक्रमित रहेको देखिएको छ।
झाडापखाला देखिएका व्यक्तिहरूको ‘ब्लड काउन्ट’ अति उच्च देखिएको छ भने मृगौलामा समेत असर देखिएको डा.सिंह बताउँछन्।
(डब्लुएचओ) को अनुसार हैजा एक गम्भीर झाडा पखाला हुने रोग हो जुन उपचार नगरे केही घण्टा भित्रै घातक हुन सक्छ। यो सङ्क्रमणमा उपचारमा छिटो पहुँच महत्त्वपूर्ण छ।
प्रतिक्रिया दिनुहोस