हेलि र एयर एम्बुलेन्सको अवधारणा : देश भर एउटै नम्बर ‘१०२’ बाट एम्बुलेन्स सेवा

काठमाडौँ – सडक सञ्जाल नपुगेका दुर्गम गाउँ देखि प्राकृतिक प्रकोप प्रभावित क्षेत्र सम्म आकस्मिक स्वास्थ्य सेवा पुर्याउन सरकारले पहिलो पटक हेलि एम्बुलेन्स र एयर एम्बुलेन्स प्रणालीको अवधारणा अघि सारेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृत गरेको ‘एम्बुलेन्स सेवा निर्देशिका, २०८२’ मार्फत यो व्यवस्था सम्भावनामा आएको हो।
निर्देशिकाले आगामी दिनमा आकाशीय मार्ग मार्फत आकस्मिक उपचार पुर्याउने विस्तृत नीति बनाउन आधार तयार गरेको छ। साथै, देश भर छरिएर सञ्चालनमा रहेका एम्बुलेन्स सेवाहरू लाई एउटै संरचना अन्तर्गत ल्याएर एकीकृत आकस्मिक स्वास्थ्य सेवा प्रणाली निर्माण गर्ने बाटो खुलाएको छ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले निर्देशिका स्वीकृत गर्दै भने, -‘अब छरिएर सञ्चालनमा रहेका एम्बुलेन्सहरू एउटै छाता मुनि आउँछन्। हेलि र एयर एम्बुलेन्सको अवधारणा सहित, यो प्रणालीले आकस्मिक उपचारमा नागरिकको पहुँच बढाउने मात्र होइन, सेवा प्रवाहलाई व्यवस्थित र पारदर्शी बनाउनेछ।’
अब देशभर एउटै नम्बर ‘१०२’
निर्देशिका अनुसार, अब कुनै पनि स्थानमा एम्बुलेन्स आवश्यक परेमा नागरिकले टोल-फ्री नम्बर ‘१०२’ मा सम्पर्क गर्न सक्छन्। यो नम्बरमा आएको अनुरोधलाई राष्ट्रिय, प्रदेश र जिल्ला स्तरीय प्रेषण केन्द्रले ग्रहण गरी जीपीएस प्रणाली मार्फत बिरामी नजिकैको उपयुक्त एम्बुलेन्स तुरुन्तै पठाउनेछ।
एकरूपता र गुणस्तर
निर्देशिकाले सेवामा गुणस्तर कायम गर्न एम्बुलेन्सलाई ‘क’ र ‘ख’ वर्गमा वर्गीकरण गरेको छ। प्रत्येक एम्बुलेन्समा जीपीएस, ‘स्टार अफ लाइफ’ लोगो, तोकिएको रङ र न्यूनतम आकस्मिक उपचार उपकरण अनिवार्य हुनेछ।
शुल्क निर्धारण पनि वैज्ञानिक आधारमा जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति ले गर्नेछ, जसलाई सार्वजनिक गर्नुपर्ने व्यवस्था छ। विपन्न, असहाय वा विपद्मा परेकाहरूलाई निःशुल्क सेवा दिने प्रावधान पनि राखिएको छ।
विद्युतीय एम्बुलेन्सको प्रोत्साहन
पर्यावरण मैत्री स्वास्थ्य सेवाका लागि विद्युतीय एम्बुलेन्स सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ। यसको लागि ७० किलोवाट आवर क्षमताको ब्याट्री, कम्तीमा २५० किलोमिटर रेन्ज र फास्ट चार्जिङ सुविधा अनिवार्य गरिएको छ।
रणनीतिक पार्किङ र जियो म्यापिङ
निर्देशिकाले दुर्घटना स्थान वा आकस्मिक ‘हटस्पट’ क्षेत्रमा एम्बुलेन्सलाई नजिकै तयारी अवस्थामा राख्ने जियो म्यापिङ प्रणाली को व्यवस्था पनि गरेको छ। यसले घटनास्थलमा पुग्ने समय उल्लेख्य घटाउनेछ।
प्रतिक्रिया दिनुहोस