प्रस्तुति गृहको ६६औं वार्षिकोत्सव

परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल ५०० बेडमा विस्तार हुने


काठमाडौँ – देशकै विशिष्टीकृत महिला स्वास्थ्य संस्था, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले शनिबार विशेष समारोहका बीच आफ्नो ६६औं वार्षिकोत्सव मनाएको छ। स्वास्थ्य मन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अस्पतालले विगत एक वर्षमा पुर्याएको उपलब्धि, सेवा विस्तारको योजना र मातृ शिशु स्वास्थ्यमा दिएको योगदान प्रस्तुत गरिएको थियो।

वि.सं. २०१६ सालमा ४० शैय्याबाट सुरु भएको यो अस्पताल हाल ४८९ शैय्यामा विस्तारित भई लाखौं आमा र शिशुको भरोसा योग्य स्वास्थ्य सेवा केन्द्र बनेको छ। गत आर्थिक वर्षमा मात्रै करिब २१ हजार सुरक्षित प्रसूति सम्पन्न गराइएको र बहिरंग विभागमार्फत २ लाख ३३ हजारभन्दा बढी बिरामीले सेवा लिएको अस्पतालले जनाएको छ।

समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले अस्पतालले खेलेको ऐतिहासिक योगदानको उच्च प्रशंसा गर्दै यसलाई ‘राष्ट्रिय धरोहर’ को संज्ञा दिए। उनले भने,’प्रसूति गृह केवल अस्पताल मात्र होइन, यो लाखौं आमा र शिशुको जीवनसँग प्रत्यक्ष जोडिएको राष्ट्रिय धरोहर हो। यसको ६६ वर्षको यात्रा नेपालको स्वास्थ्य विकासको साक्षी हो।’

मन्त्री पौडेलले अस्पतालमा हाल सञ्चालनमा रहेका नियोनेटल स्क्रिनिङ, ह्युमन मिल्क बैंक र पुनः सञ्चालनमा ल्याइएको आईभीएफ सेवा जस्ता कार्यक्रमलाई राष्ट्रिय स्वास्थ्य प्रणालीका लागि अनुकरणीय बताउँदै निकट भविष्यमै अस्पताललाई ५०० शैय्यामा विस्तार गर्ने घोषणा गरे। साथै, काठमाडौंका दुई नगरपालिकामा २५–२५ शैय्याका स्याटेलाइट प्रसूति अस्पताल निर्माण गरी बढ्दो जनघनत्वलाई व्यवस्थापन गर्ने तयारी भइरहेको जानकारी पनि उनले दिए।

अस्पतालका निर्देशक डा.श्रीप्रसाद अधिकारीले हालै थपिएका सेवाबारे जानकारी दिँदै स्त्रीरोग सम्बन्धी दुरबिन प्रविधिबाट हुने शल्यक्रिया, गर्भवतीका लागि मानसिक स्वास्थ्य ओपिडी तथा फेटल–मेटर्नल इको सेवाले रिफरल दर घटाएको बताए। उनले भूकम्प पछि रोकिएको सरकारी आईभीएफ सेवा मन्त्रीको पहलमा पुनः प्रभावकारी रूपमा सञ्चालनमा आएको उल्लेख गर्दै यसले निःसन्तान दम्पतीलाई ठूलो राहत पुगेको बताए।

अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत लैंगिक हिंसा पीडितका लागि एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी), दुर्गमका महिलाका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत हवाई उद्धार पश्चात उपचार, साथै गरिब तथा विपन्न वर्गका लागि निःशुल्क उपचार जस्ता कार्यक्रमलाई निरन्तर प्राथमिकतामा राख्दै आएको अस्पताल स्रोतले जनाएको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!