नेपालमै १,३५९ अतिरिक्त चिकित्सा शिक्षा सिट, प्रधानमन्त्री ओलीले भने, ‘विदेश जाने एयरपोर्ट लाइन घटाउने ऐतिहासिक निर्णय’

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमै चिकित्सा शिक्षा अध्ययनका लागि १,३५९ अतिरिक्त सिट थप्ने निर्णयलाई ‘ऐतिहासिक’ भन्दै स्वागत गरेका छन्। शुक्रबार राति करिब ९ बजे सामाजिक सञ्जाल फेसबुक मार्फत उनले यो कदमले युवा शक्ति विदेश पलायन हुने दर घटाउने र अरबौं रुपैयाँ देशभित्रै बचत हुने दाबी गरेका हुन्।
उनका अनुसार गत वर्ष मात्र स्नातक तहको चिकित्सा शिक्षा अध्ययनका लागि १,६५५ नेपाली विद्यार्थीले विदेश जाने अनुमति पत्र लिएका थिए। अन्य विषय अध्ययनका लागि विदेश जानेको संख्या भने दशौँ हजारमा रहेको छ।
‘यो केवल आर्थिक नोक्सानी मात्र होइन, युवा शक्ति र भविष्यको सम्भावना पनि देशबाहिर पलायन हुने दुःखद चित्र हो,’ ओलीले फेसबुक पोस्टमा लेखेका छन्।
प्रधानमन्त्रीका अनुसार, चिकित्सा शिक्षा आयोगको हालैको निर्णय पछि एमबीबीएस, बीडीएस, बी.फार्मा, डीएम, एमसीएच लगायत तहमा सिट बढाइएको हो। यसबाट मात्र शुल्कमा करिब ३ अर्ब १२ करोड २४ लाख रुपैयाँ भन्दा बढी रकम विदेशिन बाट रोकिने उनको दाबी छ।
‘यस निर्णयले हरेक वर्ष चिकित्सा शिक्षा अध्ययनका लागि विदेशिने साढे तीन अर्ब रुपैयाँ जति देशमै रहनेछ, परिवार छोडेर परदेशिनु पर्ने बाध्यता कम हुनेछ, र नेपालमै सक्षम चिकित्सक तयार हुने मार्ग प्रशस्त हुनेछ,’ ओलीको भनाइ छ।
तर, प्रधानमन्त्रीले यस निर्णयलाई केहीले गलत अर्थ लगाएको दाबी गर्दै संसदमा पनि ‘पेशेवर मास म्यानुपुलेसन’ र ‘मिडिया म्यानुपुलेटर’को कुरा उठाएको स्मरण गराएका छन्। उनले यस्तो प्रवृत्ति प्रति खेद प्रकट गर्दै आफ्नो अभिव्यक्ति समाप्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस