मेडिकल कलेजमा सिट संख्या वृद्धि : एमबीबीएस १३० र बीडीएस ६० सम्म

काठमाडौं – चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएस अध्ययनका लागि सिट संख्या बढाउने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको आयोगको २१औँ बैठकले यस अघि तोकिएको सिट संख्यामा वृद्धि गर्दै नयाँ सीमा तोकेको हो।
निर्णय अनुसार, हाल सम्म १०० सिट सीमित रहेको एमबीबीएसको अधिकतम सीमा १३० पुर्याइएको छ भने ५० सिट रहेको बीडीएसलाई ६० सम्म बढाइएको छ।
बैठकमा सहभागी एक सदस्यका अनुसार, मेडिकल कलेजहरूको पूर्वाधार, फ्याकल्टी र अन्य मापदण्डको मूल्यांकन गरी मात्र सिट संख्या तोकिनेछ। ‘मापदण्ड पूरा गरेका कलेजलाई मापदण्ड अनुसारकै सिट दिने निर्णय भएको हो,’ ती सदस्यले बताए।
सबै भन्दा बढी १३० सिट पाउने मेडिकल कलेजमा विराट मेडिकल कलेज, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेस पर्छन्। पोखरा स्थित मणिपाल शिक्षण अस्पतालले भने १२० सिट पाएको छ।
यस अघि गत असार ३२ गते बसेको २०औँ बैठकले प्राविधिक तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत चिकित्सा शिक्षातर्फ प्रमाणपत्र तहका कार्यक्रमको सिट निर्धारण प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो।
प्रतिक्रिया दिनुहोस