डा. गोविन्द केसीका कारण चिकित्सा शिक्षा अस्तव्यस्त भएको आरोप

काठमाडौँ – प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले प्रा. डा. गोविन्द केसीका कारण नेपालको चिकित्सा शिक्षा प्रणाली कमजोर र अस्तव्यस्त बनेको आरोप लगाएका छन्।
‘नेपालको चिकित्सा शिक्षा: अबको बाटो’ शीर्षकमा स्वास्थ्य पत्रकार मञ्चद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले नाम नलिए पनि स्पष्ट रूपमा डा. केसीलाई लक्षित गर्दै कडा शब्दमा आलोचना गरे।
‘एक जना व्यक्तिको कारण नेपालको मेडिकल शिक्षा प्रणाली नै धराशायी भयो,’ थापाले भने, ‘२०७० सालको संविधान सभामा पनि म थिएँ। सुरुमा लाग्थ्यो, यी व्यक्तिले राम्रो गर्न चाहेका हुन्। तर पछि बुझ्दा त सरकारी डाक्टर रहेछन्। राजस्व खाएको सरकारी डाक्टरले आमरण अनशन बसेर चिकित्सा शिक्षा बिगार्न मिल्छ?’
थापाले कुनै पनि विश्वविद्यालयमा तालाबन्दी र हड्ताल गर्न नपाइने कानुनी व्यवस्था रहेको स्मरण गराउँदै, यस्तो कार्यमा संलग्न प्राध्यापक वा उपप्राध्यापक लाई दण्डित गर्ने प्रावधान रहेको बताए। उनका अनुसार, माग राख्दा सांकेतिक रूपमा प्रस्तुत गर्नुपर्छ र सम्बन्धित पक्षले तत्काल सुनुवाइ गर्नु पर्छ, आन्दोलन वा हड्ताल सम्म पुग्ने अवस्था आउनु हुँदैन।
आफूमाथि लगाइएको आरोप बारे डा. गोविन्द केसीको तर्फबाट हाल सम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। पेशाले हाड जोर्नी शल्य चिकित्सक रहेका प्राध्यापक डा. गोविन्द केसी चिकित्सा शिक्षा सुधारका प्रमुख अभियन्ता हुन्।
डा. केसीले निजी मेडिकल कलेजको मन परी शुल्क, प्रवेश प्रक्रियामा पारदर्शिता अभाव र सरकारी एवं निजी मेडिकल शिक्षामा गुण स्तर सुधारको माग गर्दै वर्षौँ देखि संघर्ष गरेका छन्। उनीले पटक पटक अनशन बसेर सरकारलाई दबाब दिइ चिकित्सा शिक्षा ऐन, मेडिकल कलेजको शुल्क निर्धारण र मेडिकल कलेजको स्वीकृति प्रक्रियामा पारदर्शिता ल्याउने जस्ता माग राखेका छन्।
उनले सार्वजनिक गर्दै आएको धारणा अनुसार चिकित्सा सेवा र शिक्षा ‘सार्वजनिक सम्पत्ति’ हो, जसमा नाफा भन्दा सेवा र समान पहुँच प्राथमिक हुनु पर्छ।
प्रतिक्रिया दिनुहोस