संघीय अस्पतालमा अनलाइन भुक्तानी सुरु हुने

काठमाडौं -अब देखि देश भरिका सबै संघीय अस्पतालमा अनलाइन तथा क्युआर मार्फत डिजिटल भुक्तानी प्रणाली लागू हुने भएको छ। स्वास्थ्य मन्त्री प्रदीप पौडेलको अगुवाइमा अस्पताल सेवा डिजिटल र जनमैत्री बनाउन स्वास्थ्य मन्त्रालयले बुधबार सम्बन्धित सबै संघीय अस्पताल तथा स्वास्थ्य प्रतिष्ठानहरूलाई परिपत्र पठाएको हो।
मन्त्री पौडेलले अस्पतालहरूमा हुने भीड कम गर्ने उद्देश्य सहित नौ बुँदे सुधार योजना अघि बढाइ रहेका छन्। उक्त योजना अनुसार नागरिकहरूले टिकट काट्न तथा सेवा शुल्क तिर्न लामो समय लाइनमा बस्नुपर्ने अवस्थालाई अन्त्य गर्दै सहज र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्ने तयारी गरिएको छ।
पौडेलको सचिवालयका अनुसार उक्त सुधार योजनामा डिजिटल भुक्तानीलाई विशेष प्राथमिकता दिइएको छ। मन्त्रालयले गुणस्तर मापन तथा नियमन महाशाखा मार्फत डिजिटल सेवा कार्यान्वयनको अनुगमन पनि गर्ने जनाएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी का अनुसार नौ बुँदे सुधार योजनामा भीड व्यवस्थापन सम्बन्धी व्यवस्था समेत समावेश गरिएको छ। उनले भने, ‘अब अनुगमनलाई थप कडाइ गरिनेछ, ताकि सेवा गुणस्तरीय र जनमैत्री बनोस्।’ यसबाट डिजिटल माध्यम मार्फत छिटो, सुरक्षित र पारदर्शी सेवा प्रवाह हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस