बागमती पूर्ण खोप प्रदेश घोषित, प्रधानमन्त्री ओलीद्वारा डिजिटल हेल्थ कार्यक्रमको उद्घाटन

भक्तपुर — प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष उपस्थितिमा शुक्रबार बागमती प्रदेशलाई ‘पूर्ण खोप प्रदेश’ घोषणा गरिएको छ। प्रदेशको स्वास्थ्य मन्त्रालयले आयोजना गरेको विशेष समारोहमा प्रधानमन्त्री ओलीले यो घोषणा गरेका हुन्।
पूर्ण खोपको मान्यता सङ्घीय सरकार अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय पूर्ण खोप समन्वय समितिबाट प्राप्त प्रमाणपत्रका आधारमा दिइएको हो। प्रमाण अनुसार, गत साउन २७ गते सम्म बागमती प्रदेशका १६ देखि २३ महिना सम्मका सबै बालबालिकाले १५ महिनाको उमेर भित्र आवश्यक सबै खोप प्राप्त गरिसकेका छन्। यसले प्रदेशका १३ वटै जिल्ला र ११९ पालिकालाई पूर्ण खोपको मापदण्डमा पुर्याएको छ।
समारोहमा प्रधानमन्त्री ओलीले खोप अभियानमा उल्लेखनीय भूमिका खेलेका प्रदेशका स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गर्दै, खोप अभियान मार्फत नेपाललाई निरोगी बनाउने अभियानमा महत्वपूर्ण सफलता प्राप्त भएको बताए। उनले प्रदेशका स्वास्थ्य मन्त्री किरण थापालाई राष्ट्रिय खोप प्रमाणपत्र हस्तान्तरण गरेका थिए।
प्रधानमन्त्री ओलीले समारोहमा ‘डिजिटल हेल्थ कार्यक्रम’ को पनि उद्घाटन गरे। सो अवसरमा उनले भने, ‘रोग लाग्न सक्छ, तर हामीले रोगको कारण र संक्रमणको बाटो बन्द गर्नुपर्छ। त्यसको प्रमुख उपाय खोप हो। यस अभियानले हाम्रो संविधानद्वारा प्रत्याभूत मौलिक हक, स्वास्थ्य सेवामा पहुँच लाई सार्थक बनाउँदैछ।’
उनले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय लक्ष्य प्राप्तिका लागि निरोगी नेपाल अभियानलाई बलियो बनाउनु आवश्यक रहेको बताए। ‘नागरिक मात्र होइन, पशुपंक्षी र वनस्पति पनि निरोगी होऊन्, शहर र गाउँ सफा रहून् भन्ने सोच सहित अघि बढ्नु पर्छ,’ उनले थपे।
प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले स्वास्थ्यकर्मीहरूको निरन्तर प्रयासले प्रदेशलाई पूर्ण खोपको लक्ष्यमा पु-याउन सफल भएकोमा धन्यवाद ज्ञापन गरे।
प्रधानमन्त्री ओलीले अन्य प्रदेशहरूमा पनि यस्ता अभियानलाई प्रेरणा दिने गरी विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए। ‘आगामी २०८३ मा नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुँदैछ, त्यसका लागि सार्वजनिक स्वास्थ्य अभियानहरू निर्णायक छन्,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस