स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु केही स्थानका सरकारी अस्पतालमा यथावत् रहने

काठमाडौं – नजिकै प्रथम सेवा बिन्दु नहुँदा सेवा लिन अप्ठ्यारो भएको स्थानका केन्द्रीय सरकारी अस्पतालहरूमा स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु कायमै राखिने भएको छ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले सामाजिक सञ्जाल मार्फत उक्त जानकारी दिएका हुन् ।
स्वास्थ्य मन्त्रीले भनेका छन, ‘स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु हट्दा नागरिकले भोग्नुपरेको कठिनाईलाई सम्बोधन गर्दै नजिकै बिन्दु नभएका स्थानका केन्द्रीय सरकारी अस्पतालमा सेवा यथावत् राख्ने निर्णय गरिएको छ ।’
स्वास्थ्य बीमा बोर्डले केही समय अघि पहिलो सेवाको पहुँचलाई स्थानीय तहमा सीमित गर्दै धेरै स्थानबाट प्रथम बिन्दु हटाउने निर्णय गरेको थियो । तर उक्त निर्णयपछि धेरै नागरिकबाट गुनासो आएपछि मन्त्रालयले हस्तक्षेप गर्दै केही अस्पतालमा पूर्ववत् सेवा निरन्तर रहने स्पष्ट पारेकोहो।
अब स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार, जहाँ वैकल्पिक सेवा उपलब्ध छैन, त्यस्ता स्थानका केन्द्रीय सरकारी अस्पतालहरूमा प्रथम सेवा बिन्दु पुनः सञ्चालनमा रहनेछ । मन्त्री पौडेलले पहिलो बिन्दुको पहुँच विस्तारका लागि प्रदेश तथा स्थानीय सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
‘हामी स्वास्थ्य बीमा प्रणालीलाई व्यवस्थित गर्दै सबै स्थानीय तहमा कम्तीमा एक वटा प्रथम सेवा बिन्दु स्थापना गर्ने कार्यमा लागिपरेका छौं,’ मन्त्री पौडेलले भने, ‘जस स्थानमा उपयुक्त संस्था छैन, त्यहाँ स्वास्थ्य संस्था स्थापना वा स्तरोन्नति गरी नागरिकलाई आफनै घरदैलोमा सेवा दिने हाम्रो प्रयास जारी छ ।’
उनले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउँदै दिगो रूपमा विस्तार गर्न सल्लाह र सुझावको स्वागत गर्दै जनताको पहुँचमा आधारित सुधारका लागि मन्त्रालय निरन्तर सक्रिय रहेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस