किशोरीलाई प्रलोभनमा पारेर डिम्ब बेचबिखन, होप फर्टिलिटी एण्ड डायग्नोस्टिक का पक्राउ परेका ५ जना जमानतमा रिहा


काठमाडौं -नि:सन्तान दम्पतीलाई सन्तान प्राप्तिमा सहयोग गर्ने बहानामा किशोरीहरू माथि प्रलोभन देखाएर डिम्ब निकाल्ने अवैध कारोबार फेला परेको छ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र मानव बेच बिखन अनुसन्धान ब्यूरोको संयुक्त अनुसन्धानबाट यस्तो तथ्य उजागर भएको हो। १८ वर्षमुनिका किशोरीहरूलाई आर्थिक प्रलोभन देखाएर डिम्ब निकालिएको पाइएको छ।

सीआईबीका निर्देशक एवं अतिरिक्त महानिरीक्षक चन्द्र कुवेर खापुङका अनुसार, प्रत्येक किशोरीलाई १५–१६ हजार रुपैयाँ दिइने गरिन्थ्यो भने बिचौलिया लाई ३०–३५ हजारसम्म प्रदान गरिने गरेको थियो।

यस कार्यमा संलग्न रहेको ठहर गर्दै प्रहरीले काठमाडौं को बबरमहल स्थित होप फर्टिलिटी एण्ड डायग्नोस्टिक प्रालिका पाँच जनालाई पक्राउ गरेको थियो। तर कानुनी अस्पष्टताका कारण उनीहरूलाई हाल अदालतको आदेशमा हाजिर जमानतमा रिहा गरिएको छ।

प्रारम्भमा घटनालाई मानव बेचबिखन अन्तर्गत हेर्ने भनिए पनि सरकारी वकिलको राय पछि डिम्बलाई मानव अंगको रूपमा वर्गीकृत गर्न नमिल्ने ठहर गर्दै अनुसन्धानको दृष्टिकोण परिवर्तन गरिएको हो। सरकारी वकिलसँगको परामर्शपछि बालबालिका सम्बन्धी ऐन विपरीतको कसुरमा अनुसन्धान अघि बढाइएको छ।

प्रहरी अनुसन्धानका क्रममा पीडित किशोरीहरूले आफूहरू लाई ९–१० दिन सम्म इन्जेक्सन दिइएको र त्यस पछि सानो शल्यक्रिया गरेर डिम्ब निकालिएको बताएका छन्। डिम्ब सुरक्षित रूपमा संकलन गरी अन्य व्यक्तिलाई प्रयोगका लागि राखिएको प्रमाण भेटिएको प्रहरीको दाबी छ।

खापुङका अनुसार, यदि उमेर पुगेकी युवतीले स्वेच्छाले डिम्ब दान गरे कानुनमा समस्या नपर्ने भए पनि किशोरीलाई आर्थिक लोभ देखाएर यस्तो कार्य गरिनु गम्भीर अपराध हो। अनुसन्धान अझै जारी रहेको र पक्राउ परेकाहरूलाई प्रहरीमा नियमित उपस्थित गराइने जानकारी दिइएको छ।

नेपालको कानूनमा शुक्रकिट संकलन र भण्डारणसम्बन्धी केही व्यवस्था भए पनि डिम्ब दानसम्बन्धी स्पष्ट कानुनी प्रावधान नहुनु पनि कारबाहीमा बाधक भएको देखिएको छ। संबन्धित निकायहरूले चाँडै स्पष्ट कानुनी ढाँचा तयार गर्नुपर्ने आवश्यकता देखिएको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!