जापानद्वारा अछामको बयलपाटा अस्पताललाई चिकित्सा उपकरण हस्तान्तरण

काठमाडौं – अछाम जिल्लाको साँफेबगर नगरपालिकामा अवस्थित बयलपाटा अस्पताल लाई जापान सरकारले चिकित्सा उपकरण हस्तान्तरण गरेको छ।
मङ्गलबार आयोजित एक कार्यक्रममा नेपालका लागि जापानका कार्यवाहक राजदूत मिस्टर तमुरा टाकाहिरोको उपस्थितिमा उपकरण हस्तान्तरण गरिएको हो।
‘ग्रासरुट्स ह्युम्यान सेक्युरिटी प्रोजेक्ट (जिजीपी) अन्तर्गत जापान सरकारले ६६ हजार २६३ अमेरिकी डलर (करिब ८९ लाख नेपाली रुपैयाँ) बराबरको अनुदानमा ट्रमा केयर र हाड जोर्नी सम्बन्धी शल्य चिकित्सा (अर्थोपेडीक सर्जरी) का लागि आवश्यक उपकरणहरू प्रदान गरेको हो ।
बयलपाटा अस्पताल गैर सरकारी संस्था न्याय हेल्थ नेपालले सुदूर पश्चिम प्रदेशको अछाम, बाजुरा, डोटी तथा कर्णाली प्रदेशका कालिकोट र दैलेख जिल्लालाई लक्षित गर्दै प्रदेश र स्थानीय सरकारको सहकार्यमा सञ्चालन गरिँदै आएको एक मुख्य स्वास्थ्य संस्था हो।
कार्यक्रममा मिस्टर तमुराले परियोजनामा संलग्न सबै पक्षको प्रशंसा गर्दै ग्रामीण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तारमा यो सहयोगले ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे।
जापानी दूतावासका अनुसार, यो सहयोगले ग्रामिण भेगमा गुणस्तरीय स्वास्थ्य पहुँच प्रवर्द्धन गर्नुका साथै नेपाल र जापान बीचको मित्रता थप सुदृढ गर्ने अपेक्षा गरिएको छ।
सन् १९९१ देखि जापानको जिजीपी कार्यक्रम मार्फत नेपालमा २०० भन्दा बढी परियोजना कार्यान्वयन भइ सकेका छन्, जसले सिधै सर्वसाधारणको सामाजिक–आर्थिक विकासमा योगदान पुर्याएका छन्
प्रतिक्रिया दिनुहोस