फैलिँदै कोभिड, पूर्ण स्वस्थ व्यक्ति समेत जोगिन आवश्यक


काठमाडौँ – नेपालमा पछिल्लो समय कोभिड सङ्क्रमण बढ्दो देखिए पछि  कुनै रोग नभएका स्वस्थ व्यक्तिहरू लाई समेत बुढापाका, बच्चा र कमजोर रोग प्रतिरोधक क्षमता भएका व्यक्तिहरूलाई जोगाउन विशेष सावधानी अपनाउनु पर्ने चिकित्सकहरुले बताएका छन् ।

किन भने  स्वस्थ व्यक्तिमा सामान्य रुघाखोकीको जस्तो कोभिडको लक्षण  वा कुनै लक्षण नदेखिए पनि (एसिम्टोम्याटिक) उनीहरू रोग बोकेर घर, छिमेकी समाजमा संक्रमण फैलाउन सक्छन ।

हाल यो संक्रमण नेपालमा ओमिक्रोन भेरिएन्ट अन्तर्गतकै विभिन्न उपशाखा जेएन.१ एक्सएफजी,  एक्सएफजी.३ र एक्सएफजी.३.१ को कारण भइरहेको देखिएको हो।

सरकारी तथ्याङ्क अनुसार सन् २०२५ को जनवरीदेखि हालसम्म मुलुकमा प्रयोगशाला प्रमाणित कोभिडको १६४ वटा केस देखिएको छ जस मध्ये ८० प्रतिशत केस काठमाडौँमै देखिएको हो। यस्तै पछिल्लो एक सातामा देश भरिमा ३३ वटा केस देखिएकोमा ६७ प्रतिशत केस काठमाडौँ मै देखिएको हो।

सुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका कन्सल्टेन्ट फिजिसियन डा.मिलन बज्राचार्यले नेपालहेल्थप्रेस सँग भने -‘अहिले हाम्रो अस्पतालमा कोभिड संक्रमित एकजना ५६ वर्षीया महिला भर्ना छन् र दिनहुँ बहिरङ्ग विभागमा १५ -२० जना रुघाखोकीको लक्षण लिएर पुगिरहेका छन्।’

हालको अवस्था हेर्दा कोभिड संक्रमण बढ्न सक्ने देखिएको औल्याउँदै डा.बज्राचार्य भन्छन् -‘उपचार प्रक्रिया अन्तर्गत नै हाम्रा एक जना चिकित्सक र एकजना सिस्टर समेत कोभिड सङ्क्रमित भएकी छिन्।’

कुन भेरिएन्ट फैलिँदैछ ?

इपिडमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चन्द्रभाल झा भन्छन् -‘हामीले विभिन्न नमुनामा गरेको जिन सिक्वेन्सिङको आधारमा अहिले मुलुकमा फैलिरहेको कोभिड भाइरस ओमिक्रोन भेरिएन्ट अन्तर्गतका जेएन.१,  एक्सएफजी,  एक्सएफजी.३ र एक्सएफजी.३.१ देखिएका छन् ।

एक्सएफजी  ओमिक्रोन  भेरियन्टको दुईवटा शाखा (एलएफ.७ र एलपी.८.१.२) को मिश्रणबाट बनेको रिकम्बिनेन्ट भेरिएन्ट हो।

यो नयाँ उपशाखाले ओमिक्रोन  भेरियन्टकै गुणहरु लिए पनि फरक किसिमले शरीरको प्रतिरोधात्मक प्रणालीबाट बच्न सक्छ।

एक्सएफजी को मुख्य चिनारी ओआरएफ१बी : पी१६५२एस नामक जेनेटिक परिवर्तन हो। एक्सएफजी.३, एक्सएफजी कै सानो शाखा हो, जुन अझ नयाँ रूप हो। एक्सएफजी.३.१ यसको अझ उपशाखा हो, जसको विस्तृत विवरण सीमित छ ।

यस्तै जेएन.१ पनि ओमिक्रोन समूहमै पर्ने नयाँ उपशाखा हो। यसको सबै भन्दा उल्लेखनीय विशेषता भनेको यसले शरीरमा बनेको प्रतिरक्षा बाट बच्ने क्षमता धेरै रहेको छ। यसैले गर्दा विश्व भर एक समय यो तीव्र गतिमा फैलिएको थियो। तर पछिल्लो समयमा जेएन.१ भन्दा एक्सएफजी प्रकारको संक्रमण नेपालमा बढी देखिएको छ ।

के गर्ने ?

हाल देखिएको कोभिड संक्रमणले स्वस्थ व्यक्तिलाई अप्ठ्यारो नपारि रहेको भए पनि यो संक्रमणबाट जोगिने उपाय गर्नु सबैको लागि फाइदाकारी छ।

डा. बज्राचार्य का अनुसार रोग प्रतिरोध क्षमता कम भएका बालबालिका बुढापाका लाई सङ्क्रमणबाट जोगिने उपाय त गर्नैपर्छ तर स्वस्थ व्यक्तिले समेत विशेष सावधानी अपनाउनु पर्छ । स्वस्थ व्यक्तिले आफ्नो लागि भन्दा पनि परिवार र समाजमा संक्रमण फैलिन नदिन सम्पूर्ण सुरक्षाका उपायहरु अपनाउनु आवश्यक छ।

यसैले भिडभाडमा जाँदा सामान्य मास्कको प्रयोग, साबुनपानीले हात धुँदै गर्ने र भिडभाड पार्टी आदि सके सम्म टार्दा राम्रो ।

डा.बज्राचार्यले भने -‘मेरै पेसेन्टले साथी भाइ सँग पार्टी बनाउन जाँदा त्यहा एक जनालाई रुघाखोकी को अवस्था रहेकोमा एक दुई दिन पछि आफूलाई पनि कोभिड संक्रमण भएको पाए । यसैले जहाँ सम्म हुन्छ केही दिन सामूहिक कार्यक्रमहरूबाट जोगिनु नै राम्रो ।’

चिकित्सकहरूको अनुसार सुगर नियन्त्रणमा नआएको,  दमको बिरामी, उच्च रक्तचाप,  गर्भवती,  बच्चा, वृद्ध, रोग प्रतिरोध क्षमता कम भएको, अङ्ग प्रत्यारोपण गराएका, क्यान्सर उपचार गराइ रहेका, दीर्घ वा जटिल रोग भएकाहरू लाई कोभिड संक्रमणबाट जोगिनु धेरै आवश्यक छ ।

भारतमा कस्तो स्थिति ?

नेपालहेल्थप्रेस नयाँ दिल्ली ब्युरोको अनुसार भारतमा पछिल्लो समय कोभिडले भएको मृत्यु मुख्य रूपमा कोमोरविडीटी (विभिन्न प्रकारका दीर्घरोग) भएकाहरू मै देखिएको छ । युवाहरूमा देखिएका मृत्यु अधिकांश रोग प्रतिरोधक क्षमता कम भएका वा जटिल रोग भएकाहरूमा देखिएको हो।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!