देखिन थाल्यो कोभिड: टेकु अस्पताल मा संक्रमित भर्ना, जोगिन सतर्कता आवश्यक, परीक्षण किटको अभाव

काठमाडौं – छिमेकी भारतमा कोभिड–१९ को संक्रमण दर बढिरहेका बेला नेपालमा पनि कोभिड संक्रमित देखिन थालेका छन्। सुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा हाल ४१ वर्षीय एक जना कोभिड संक्रमित बिरामी भर्ना भएका छन्। उनी अन्य अस्पताल हुँदै टेकुमा सारिएका हुन्।
चिकित्सकहरूका अनुसार ती बिरामी अक्सिजनमा निर्भर थिए, तर गम्भीर प्रकृतिका अन्य रोग (कोमर्बिडिटी) छैन । करिब तीन महिना अघि उनलाई मधुमेह (सुगर) देखिएको थियो, जुन औषधिबाट नियन्त्रणमा छ। ती बिरामीले कोभिड विरुद्धको खोप लगाइसकेका छन्।
‘भक्तपुर मालपोत कार्यालयमा लेखापढी गर्ने ती व्यक्तिको भारत वा अन्य कुनै मुलुकमा यात्रा इतिहास छैन,’ टेकु अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. मिलन बज्राचार्यले नेपालहेल्थप्रेससँग भने, -‘यसको अर्थ समुदायमा नै संक्रमण फैलिन थालेको हो, जसले सबै लाई अलिक बढी सतर्क बनाउनु आवश्यक देखिन्छ।’
टेकु अस्पतालकै कन्सल्टेन्ट फिजिसियन डा. दिपेश आचार्यले भने, -‘ती व्यक्तिमा श्वासप्रश्वास मा समस्या देखिएको छ। एक जना मात्र भए पनि यस्तो लक्षण देखिनु चिन्ताको विषय हो।’
अस्पतालका चिफ कन्सल्टेन्ट फिजिसियन डा. बिमल चालिसेका अनुसार अस्पतालको बहिरङ्ग विभागमा आएका चार जनामा पनि एन्टिजेन परीक्षण गर्दा कोभिड पोजिटिभ देखिएको छ। ती सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । ‘अहिले फाट्टफुट्ट कोभिडको केसहरू देखिन थालेका छन्,’ उनले बताए।
डा. आचार्यका अनुसार छिमेकी मुलुकहरूमा देखिएको संक्रमण नेपालमा पनि देखिन थालेको हो र यसको जोखिम बढ्न सक्ने देखिन्छ।
दीर्घ रोगीहरूमा संक्रमणको जोखिम बढी
वरिष्ठ छाती रोग विशेषज्ञ डा. रमेश चोखानीले पछिल्ला ५ वर्षमा नेपालमा कोभिडको अनुभवलाई समेट्दै भने, -‘पूर्ण रूपमा स्वस्थ व्यक्तिहरूमा कोभिड संक्रमण भए पनि गम्भीर अवस्था देखिएको थिएन। तर दीर्घकालीन रोग भएका, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका, स्टेराइड वा किमोथेरापी गराइ रहेका, बृद्ध बृद्धा, मधुमेह, फोक्सो, मृगौला र मुटुका रोगीहरूमा भने संक्रमण गम्भीर देखिएको थियो। मृत्यु पनि यिनै समूहका व्यक्तिहरूमा बढी देखिएको थियो।’
उनले थपे, ‘बृद्ध बृद्धा, दीर्घरोगी, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका र जटिल रोगबाट पीडित युवाहरूलाई अझै पनि संक्रमणबाट बच्न सतर्क रहनु आवश्यक छ। साथै, उनीहरूलाई संक्रमण हुन नदिन स्वस्थ व्यक्तिहरूले पनि आवश्यक सतर्कता अपनाउनै पर्छ।’
डा.चोखानी भन्छन् बुढापाका त्यसमा पनि दीर्घकालीन रोग भएकाहरू, रोग क्षमता कम भएका, जटिल रोगका शिकार युवाहरू लगायतका लाई अझै कोभिड सङ्क्रमणबाट बाँच्न उपाय अपनाउनै पर्छ।
उनीहरूलाई संक्रमित हुन नदिन स्वस्थ व्यक्तिले समेत आफूलाई संक्रमण मुक्त राख्न अपनाउनु पर्ने उपायहरू गर्नु अत्यावश्यक छ।
डा. बज्राचार्यका अनुसार अहिलेको अवस्थामा हात साबुन पानीले धुने, भिडभाडमा मास्क प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने जस्ता सावधानी पुनः आवश्यक भएका छन्।
परीक्षण किटको अभाव
कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा कोभिड परीक्षण किटको अभाव देखिएको छ। अस्पतालका सूचना अधिकारी शान्त प्रसाद जोशीका अनुसार एक साता अघि १,००० परीक्षण किट माग गरिएको थियो, तर बिहीबार साँझ सम्म पनि ती किट प्राप्त भएका छैनन्। हाल कञ्चनपुर का विभिन्न अस्पताल र स्वास्थ्य संस्थाहरूमा कोभिड परीक्षणका लागि आवश्यक किट उपलब्ध छैनन्।
भारतमा पनि संक्रमण बढ्दो, तर आत्तिनुपर्ने अवस्था छैन
भारतमा कोभिडको उपप्रजाति (सब–भेरियन्ट) फैलिरहेको छ। नेपालहेल्थप्रेस को नयाँ दिल्ली ब्युरोका अनुसार त्यहाँका चिकित्सकहरूका अनुसार संक्रमण दर बढ्नु चिन्ताको विषय भए पनि अहिले आत्तिनु पर्ने अवस्था छैन। भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय का अनुसार शुक्रबार सम्म ७,१५४ जना सक्रिय संक्रमित छन्।
हाल फैलिएको संक्रमण ओमिक्रोन परिवारकै सब–भेरियन्टबाट भएको हो, जसका लक्षण सामान्यतया हल्का देखिन्छन् वा कतिपय अवस्थामा कुनै लक्षण नै नदेखिने (एसिम्प्टोमेटिक) पनि हुन सक्छ। तर पनि, संक्रमण फैलिन नदिन सावधानी अपनाउनु आवश्यक रहेको चिकित्सकहरू बताउँछन्।
रोग प्रतिरोधात्मक क्षमता बलियो भएका व्यक्तिहरूमा संक्रमणको असर कम देखिए पनि यस्ता व्यक्तिहरू स्वयं भाइरसको वाहक बन्न सक्छन् र कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरूलाई संक्रमित गर्न सक्छन्। यस्तो अवस्थामा ती व्यक्तिहरूको ज्यान समेत जोखिममा पर्न सक्छ।
विशेष गरी कमजोर प्रतिरक्षा प्रणाली भएका, दीर्घ रोगी, वृद्धबृद्धा तथा बालबालिकामा संक्रमणको असर गम्भीर हुनसक्ने भएकाले सबैले सावधानी अपनाउन चिकित्सकहरूको सुझाव छ।
बुस्टर डोज अहिले आवश्यक छैन: आईसीएमआर
इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) का महानिर्देशक डा. राजीव बहलका अनुसार हालको अवस्थामा आम जनताका लागि बुस्टर डोज अभियान आवश्यक छैन। भारत सरकारले यस बारे कुनै नयाँ निर्देशन दिएको छैन।
तर क्रिश्चियन मेडिकल कलेज, भेल्लोरका सेवा निवृत्त क्लिनिकल भाइरोलोजी का प्राध्यापक डा. टी. जैकब जोनका अनुसार वृद्ध वर्ग र कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरूले भने बुस्टर डोज लिनु आवश्यक छ – चाहे उनीहरूले पहिल्यै दुई मात्रा खोप र एक बुस्टर लगाइसकेका किन नहुन्।
प्रतिक्रिया दिनुहोस